काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तनको धम्की दिएको दुइए दिन पछि उनकै पहलमा इजरायल र इरानबीच युद्धविराम भएको छ । दुवै देश युद्धविराममा सहमति जनाएपछि यसको दिगोपनमा आशंका कायमै छ ।
‘राजनीतिक रूपमा शासन परिवर्तन भन्ने शब्द प्रयोग गर्नु सही होइन, तर यदि वर्तमान इरानी शासन इरानलाई फेरि महान बनाउन असमर्थ छ भने, किन शासन परिवर्तन हुँदैन ?’ ट्रम्पले आइतबार भनेका थिए ।
तर त्यसको दुई दिनपछि ट्रम्पले मंगलबार बिहान सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’मा इजरायल र इरान युद्धविरामका लागि सहमत भएको जानकारी दिएका थिए । त्यपछि दुबै पक्षले युद्धविराममा सहमति जनाए । तर त्यसको केही घण्टामै दुबै पक्षले एक–अर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाए ।
अमेरिकाले इरानस्थित तीनवटा आणविक संरचनामा आक्रमण गरेपछि इरानले राम्रैसँग जवाफ दिने चेतावनी दिएको थियो । तर, कतारमा इरानले गरेको कमजोर जवाफी आक्रमण देखेरै ट्रम्पले इरान थप अघि बढ्न नचाहेको निष्कर्ष निकाले ।
दुईतर्फी युद्धविरामले सबैभन्दा ठूलो राहत इरानी र इजरायली नागरिकलाई भएको छ, जो १२ दिनदेखि निरन्तर बमवर्षाको चपेटामा छन् । सँगै पश्चिम एसियामा शान्ति आउने जनाइएको छ । तर, विश्लेषकहरू युद्धविरामले पश्चिम एसियामा युद्धको पहिलो अध्याय सकिएको भएपनि इरान र इजरायलबीचको स्थायी शान्तिको आरम्भ भने पक्कै नभएको बताउँछन् ।
यद्यपि इरान र इजरायल दुबै देशले युद्धविरामपछि आफूहरूले जित हासिल गरेको दाबी गरेका छन् ।
इरानको सरकारी टेलिभिजन च्यानलले १३ जुनमा इजरायलविरुद्ध सुरु गरिएको युद्धमा शत्रु मुलुकलाई हराएको दाबी गरेको छ । तर युद्धविराम उल्लंघनका खबर आएपछि इजरायली सञ्चारमाध्यमहरूले इरानविरुद्ध थप कारबाहीको सवाल उठाइरहेका छन् ।
इरानको सरकारी समाचार च्यानल आइआरआइएनएनले ‘यहूदीवादी शत्रुहरूद्वारा थोपिएको युद्धमा उसलाई ‘बशारत–ए–फतह’ अपरेसनमार्फत सफलतापूर्वक हराइएको छ ।’ इरानका अधिकांश सञ्चारमाध्यम सरकार नियन्त्रित छन् ।
आइतबार इरानका तीनवटा परमाणु केन्द्रमा अमेरिकी आक्रमणपछि सोमबार बेलुका इरानले कतारस्थित अमेरिकी सैन्य अड्डा अल–उदैदमा हमला गरेको थियो ।
यस अपरेसनलाई उसले ‘बशारत–ए–फतह’ नाम दिएको थियो, जसको अर्थ हो–विजयको सन्देशवाहक । इरानी हमलापछि इरानको सरकारी टेलिभिजन र रेडियो च्यानलले भनेको छ,‘ ट्रम्प ‘यहूदीवादी शत्रु’ले हाम्रो देशमाथि थोपेको युद्धमा अब युद्धविरामको भीख मागिरहेका छन् ।’
जब इरानमा रात पर्न लागेको थियो, अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत इजरायल र इरानबीच ‘पूर्ण युद्धविराम’ घोषणा गरेका थिए ।
ट्रम्पको घोषणापछि इरानका विदेशमन्त्री अब्बास अराकचीले भने, ‘इजरायलले पहिले आक्रमण रोक्नुपर्छ, इरानको जवाफ दिने कुनै योजना छैन ।’ तर हाल दुबै देशले एक–अर्कामाथि हमला गरेको आरोप लगाएका छन् ।
ट्रम्पको युद्धविराम घोषणा पछि इजरायली सञ्चारमाध्यमहरूले समग्र अपरेसनलाई ‘राष्ट्रिय उपलब्धिका रूपमा प्रस्तुत गरिरहेका छन् । इजरायली सेनाले इरानको परमाणु कार्यक्रमका महत्त्वपूर्ण अंगहरू ध्वस्त पारेको दाबी गरेको छ ।
अन्योल यथावत्
इजरायल र इरानबीच युद्धविराम लागु भएको भनिए पनि त्यसको दिगोपनालाई लिएर अन्योल उत्पन्न भएको छ । इजरायली रक्षामन्त्रीले इरानले युद्धविराम उल्लंघन गरेको भन्दै त्यसका विरुद्ध कडा प्रतिवाद गर्न सेनालाई आदेश दिएको बताएका छन् ।
त्यसअघि इरानका विदेशमन्त्रीले इजरायलले आक्रमण बन्द गरेमा मात्र आफूहरूले युद्धविराम गर्ने बताएका थिए ।
यी पछिल्ला आक्रमणका विवरण युद्धविरामबारे दुवै देशले सहमति जनाएपछि आएको हो । यी घटनाक्रमले युद्धविराममाथि अनिश्चय उब्जाएको छ ।
युुद्धविराम भएपनि इजरायलीहरू अनिश्चयपूर्ण अवस्थामा छन् । ‘आउने घण्टा, दिन तथा साताहरूमा शान्ति छाउन लागेको अपेक्षा गरिरहँदा पुनः हवाई साइरन बज्न थालेका छन्’, एक एजरायलीले भने ।
इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) का प्रमुखले इरानको कदमलाई गम्भीर उल्लंघन भन्दै उनको सेनाले सशक्त रूपमा त्यसको प्रतिवाद गर्ने बताएका छन् ।
ट्रम्प रिसाए
इजरायलले इरानमा आक्रमणको आदेश दिएसँगै यसअघि युद्धविरामको प्रस्ताव गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायललाई आक्रमण नगर्न चेतावनी दिएका थिए ।
तर युद्धविराम घोषणा पछि पनि इजरायलले इरानमाथि आक्रमण गर्दा ट्रम्पले असन्तुष्टि जनाएका छन् । ट्रम्पले विशेष गरी इजरायलको व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन् ।
‘तिनीहरूले युद्धविराम स्वीकृत गरेपछि यति धेरै बम खसाले, यस्तो त मैले जीवनमा कहिल्यै देखेको थिइनँ’, उनले भनेका छन । युद्धविरामको पहिलो घण्टामै धेरै बम इरानमाथि खसालेको भन्दै ट्रम्प रिसाएका हुन् । उनले आफू इरानसँग पनि खुसी नभएको स्पष्ट पारे ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबाट धोखा खाएको अनुभूति गरेका छन् । ‘उनी इजरायल र इरान दुवैप्रति रिसाएका थिए, तर त्यो अतिरिक्त आक्रोश इजरायलमाथि लक्षित थियो,’ अलजजिराले भनेको छ ।
ट्रम्पले युद्धविरामका लागि नेतन्याहूलाई फोन गरेर समर्थन मागेका थिए । उता इरानलाई सहमत गराउन कतारको सहयोग लिएका थिए ।
त्यसक्रममा ट्रम्पले नेतन्याहूलाई इरानमाथि आक्रमण नगर्न फोन गरेका थिए । तर नेतन्याहुले इरानले पहिले युद्धविराम उल्लंघन गरिसकेकाले आक्रमण आवश्यक रहेको जिकिर गरेका थिए ।
राष्ट्रपति ट्रम्पको सार्वजनिक असन्तुष्टिले इजरायल दबाबमा परेको छ । नेतन्याहूले ‘विश्वासघात’ गरेको ट्रम्पले ठानेपछि इजरायल–अमेरिका सम्बन्धमा तनाव उत्पन्न भएको छ । युद्धविरामको भविष्य अझै अन्योलमा छ । अब यो आगामी घण्टा–दिनहरूमा दुवै पक्षको व्यवहारमा निर्भर रहनेछ ।
६०० को मृत्यु
सोमबारसम्म इजरायली आक्रमणमा ६०६ इरानी मारिएका छन् । यस्तै इजरायली आक्रमणमा ५ हजारभन्दा बढी मानिस घाइते भएका छन् । पछिल्ला २४ घण्टामा इरानमा सबैभन्दा भीषण आक्रमण भएका छन्, जसमा १०७ जनाको मृत्यु भएको छ ।
संघर्षमाथि निगरानी राख्ने मानवअधिकार समूह ‘ह्यूमन राइट्स एक्टिविस्ट्स इन ईरान’का अनुसार वास्तविक मृतक संख्या सरकारी तथ्यांकभन्दा झण्डै दोब्बर हुनसक्छ ।
अलपत्र नेपाली फर्किए
सोमबार इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेपछि नेपालमा अलपत्र परेका नेपालीहरू गन्तव्य तर्फ प्रस्थान गरेका छन् ।
कतारसहित आसपासका देशहरूले सोमवार राति आफ्नो हवाई क्षेत्र बन्द गर्दा नेपालबाट दोहा, दुबई र दमामका लागि तय भएका स्थगित उडानहरू सुचारु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
सुरक्षाका कारण अन्तिम समयमा उडानहरू स्थगित हुँदा यात्रुहरू विचल्लीमा परेका थिए । उनीहरू विमानस्थल परिसरमै राति बिताएका थिए ।
सोमवार राति हिमालय एअरलाइन्सका तीन, नेपाल वायुसेवाको एक र फ्लाइ दुबईको पनि एउटा उडान स्थगित भएका थिए ।