२०८२ असार ११ गते बुधवार / Jun 25 , 2025 , Wednesday
२०८२ असार ११ गते बुधवार
Ads

त्रियुगा नगरपालिकाले ल्यायो १ अर्ब ५३ करोडको बजेट

shivam cement
बिन्द्र राई
२०८२ असार ११ गते ०७:२०
त्रियुगा नगरपालिकाले ल्यायो १ अर्ब ५३ करोडको बजेट

उदयपुर : त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार बसेको नगरपालिकाको १५औँ नगरसभामा नगर प्रमुख वसन्त कुमार बस्नेतले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्ध, सुशासन  र जनउत्तरदायी नगरपालिका निर्माणको दृष्टिकोणको खाका  प्रस्तुत गरेका छन्  ।

नगर उपप्रमुख महेश्वरी राईले सो नीति कार्यान्वयन गर्न बजेट प्रस्तुत गर्दै चालू खर्चतर्फ ६४ करोड ४० लाख ५२ हजार ७८० र पूँजीगत खर्चतर्फ ८८ करोड ९४ लाख ६ हजार २२० रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् । 

कृषि र पशुपालनलाई प्राथमिकता
नगरले आगामी वर्षका लागि कृषिलाई समृद्धिको आधार मानेर पहाडी वडालाई कफी जोन घोषणा गर्ने र पशु बिमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । घोषणाअनुसार कृषि तथा पशुपालन विषयमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिने भएको छ ।

स्वास्थ्य सेवा पहुँच वृद्धि
नगरको नीति अनुसार सबै नगरवासीलाई निशुल्क आँखा परीक्षण र शल्यक्रिया, निशुल्क रगत आपूर्ति, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर स्वास्थ्य जाँच र औषधि वितरण कार्यक्रम लागू गरिनेछ ।

शिक्षामा गुणस्तर सुधार र समावेशी कार्यक्रम
शिक्षालाई सुधार गर्न नगरले सामुदायिक विद्यालयहरूमा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा अध्यापन गराउने नीति लिएको छ । साथै, महिला मैत्री विद्यालय स्थापना, ‘बुक फ्री डे’ अभियान र असहाय, दलित, विपन्न तथा अपाङ्ग विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरी समावेशी शिक्षा प्रवर्द्धन गरिने उल्लेख छ ।

सामाजिक र प्रशासनिक सुधारका प्राथमिकता
नगरले सामाजिक न्याय, जवाफदेहिता, पारदर्शिता, स्रोत साधनको समुचित व्यवस्थापन, तथा सहज र प्रभावकारी सेवा प्रवाहलाई नीति कार्यक्रममा मुख्य विषयको रूपमा समेटेको छ । साथै, श्रमिक विमा, नवप्रवर्तन, वातावरण संरक्षण, लैङ्गिक समानता र सामाजिक समावेशीकरण जस्ता क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

नगर प्रमुख बस्नेतका अनुसार नीति तथा कार्यक्रमले आर्थिक विकास, गरिबी निवारण, मानव अधिकारको संरक्षण, र स्थानीय सीपको अधिकतम प्रयोग जस्ता लक्ष्य बोकेको छ । कार्यक्रमले दीर्घकालीन र दिगो विकासका आधार तय गर्ने विश्वास गरिएको छ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise