२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

'१३औं कृति अवार्डस्'को शुभारम्भ, मनोनयन खुला

Nada
२०८३ असोज २१ गते २१:३४
Shares
'१३औं कृति अवार्डस्'को शुभारम्भ, मनोनयन खुला

काठमाडौं : नेपाल विज्ञापन संघ (आन)ले बुधबार काठमाडौंमा आयोजना गरेको 'कृति इग्नाइट' कार्यक्रमका साथ 'रेड बुल १३औं कृति अवार्डस् २०८३' को औपचारिक शुभारम्भ भएको छ । नेपालको विज्ञापन तथा आम सञ्चार क्षेत्रमा सिर्जनाशीलता र उत्कृष्टताको सम्मान गर्ने उद्देश्यले आयोजना गरिँदै आएको यस अवार्ड शृंखलाको उद्घाटन सत्र बुधबार सम्पन्न भएको हो ।

ncell

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यतामा पानसमा बत्ती बालेर समारोहको विधिवत् उद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, उद्योगी तथा व्यवसायीहरूको बाक्लो सहभागिता रहेको थियो ।

No photo description available.

यस वर्षको कृति अवार्डस्‌लाई देशका प्रमुख आर्थिक तथा नियामक संस्थाहरूले व्यापक सहकार्य र समर्थन जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल सरकारको विज्ञापन बोर्डले कार्यक्रमलाई समर्थन गरेका छन् ।

त्यसैगरी, सञ्चार क्षेत्रका प्रमुख छाता संगठनहरू- ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया अलायन्स नेपाल यस वर्षदेखि कृति अवार्डसको सह-आयोजकका रूपमा जोडिएका छन् ।

यस संस्करणको अर्को ऐतिहासिक पक्ष भनेको आनका गैर-सदस्यहरूका लागि पनि मनोनयन खुला गरिनु हो । देशका सर्वोच्च व्यावसायिक संघ-संस्थाको समर्थन, मिडिया संघ-संगठनहरूको सह-आयोजना र गैर-सदस्यका लागि खुला गरिएको यस पहलले राष्ट्रिय आर्थिक क्षेत्रमा आनको भूमिकालाई अझ व्यापक र समावेशी बनाउनुका साथै विज्ञापन उद्योगमा संस्थाको नेतृत्वलाई थप सुदृढ बनाएको वक्ताहरूले बताएका छन् ।

समारोहमा नेपालको विज्ञापन उद्योग र आम सञ्चार क्षेत्रको विकासक्रम झल्काउने विशेष अडियो-भिजुअल प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा आनका पूर्वअध्यक्ष, कृति अवार्डस्का प्रवर्धक तथा मिडिया अलायन्स नेपालका संस्थापक अध्यक्ष भास्करराज राजकर्णिकारले स्वागत मन्तव्य राखेका थिए । 

त्यसैगरी, १३औं संस्करणको शीर्ष प्रायोजक सारस बेभरेज प्रा.लि.का प्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको समापन गर्दै आनका अध्यक्ष सुदीप थापाले सम्पूर्ण सहयात्री तथा सरोकारवालाहरूमा धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर