
काठमाडौँ : काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणाली सुदृढ बनाउन निर्माण गरिएको मातातीर्थ-चोभार १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । करिब ६ किलोमिटर लामो उक्त लाइन शुक्रबारदेखि चार्ज गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।
थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्म लाइन निर्माण गरिएको हो । लाइन चार्ज भएसँगै मातातीर्थबाट चोभारसम्म १३२ केभीमा नियमित विद्युत् प्रवाह सुरु हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौं उपत्यका तथा आसपास क्षेत्रमा विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न थप सहज हुनेछ ।
आगामी हिउँदमा उपत्यकामा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि प्राधिकरणले असोज ८ गते मातातीर्थ-चोभार प्रसारण लाइन १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो । लाइन सञ्चालनका लागि चोभार सबस्टेसनमा दुई वटा ‘बे’ निर्माण गरिएको छ ।
चोभारमा निर्माण गरिएको १३२-११ केभी सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि ११ केभीका नौ वटा फिडर राखिएका छन् ।
सबस्टेसनबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक र एकान्तकुनालगायत क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । यसबाट ती क्षेत्रमा विद्युत् भोल्टेज सुधार हुनुका साथै आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणको अपेक्षा छ ।
हाल मुख्यतः त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसन हुँदै काठमाडौं उपत्यकामा भित्रिने गरेको छ ।
मातातीर्थबाट चोभारसम्म नयाँ १३२ केभी लाइन सञ्चालनमा आएपछि विद्युत् प्रवाहका लागि अर्को मार्ग उपलब्ध हुने भएकाले उपत्यकाको आपूर्ति प्रणालीमा लचकता थपिनेछ ।
प्राधिकरणले चोभार सबस्टेसनबाट ललितपुरको लगनखेलस्थित पाटन सबस्टेसनसम्म निर्माणाधीन करिब साढे चार किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइनलाई पनि प्राथमिकतामा राखेको छ ।
चक्रपथ हुँदै निर्माण भइरहेको उक्त भूमिगत लाइन सञ्चालनका लागि पाटन सबस्टेसनलाई स्तरोन्नति गरी १३२ केभी क्षमतामा सञ्चालन गर्ने कामसमेत अगाडि बढाइएको छ ।
चोभार–पाटन खण्ड सम्पन्न भएपछि उपत्यकाको १३२ केभी प्रसारण सञ्जाललाई थप अन्तरआबद्ध गर्न सहयोग पुग्नेछ ।
काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर १३२ केभी प्रसारण लाइनको ‘रिङ’ संरचना तयार गर्ने उद्देश्यसहित थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजना आर्थिक वर्ष २०५५–५६ मा सुरु गरिएको थियो ।
नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा सुरु भएको आयोजनाअन्तर्गत काठमाडौं र भक्तपुरतर्फका प्रसारण संरचना निर्माण सम्पन्न भए पनि ललितपुरतर्फको काम अझै पूरा हुन सकेको छैन ।
खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा स्थानीयले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै अवरोध गरेपछि उक्त खण्डको निर्माण प्रभावित हुँदै आएको छ ।
त्यही अवरोधका कारण मूल योजनाअनुसार प्रसारण लाइन अघि बढ्न नसकेपछि प्राधिकरणले वैकल्पिक रूपमा चोभारमा १३२-११ केभी सबस्टेसन निर्माण गरी मातातीर्थसँग जोडेको हो ।
मातातीर्थ-चोभार खण्ड सञ्चालनमा आउन लागे पनि काठमाडौँ उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण ‘रिङ’ संरचनामा सञ्चालन गर्ने योजनाका लागि ललितपुरतर्फ रोकिएको खण्ड निर्माण सम्पन्न गर्नुपर्ने चुनौती भने कायमै छ ।