२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

म्याग्दीका पर्यटकीय स्थल सुनसान

Nada
२०८२ असार २४ गते १०:०६
Shares
म्याग्दीका पर्यटकीय स्थल सुनसान

म्याग्दी : वर्षा सुरु भएसँगै यहाँका पर्यटकीय स्थल सुनसान हुन थालेका छन् । घोडे पानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिंगा र भुरुङ, तातोपानी कुण्ड, रुप्से, नारच्याङ झरनालगायत क्षेत्रमा वर्षा सुरु भएसँगै घुम्न आउने पर्यटक घटेका हुन् ।

ncell

अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीस्थित होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले प्रतिकूल मौसमका कारण पछिल्लो समय पर्यटकको आगमन घटेको बताइन् ।

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा रहेको घोडेपानीमा दैनिक एक हजार क्षमताका २५ वटा सुविधायुक्त होटल रहेका जनाउँदै ती होटेलहरू आजभोलि सुनसान रहेका उनले उल्लेख गरिन् ।

“जेठदेखि भदौसम्म झरी लाग्ने, सडक तथा पदमार्ग अवरुद्ध हुने हुँदा पर्यटन व्यवसायका हिसाबले बेमौसमी मानिन्छ”, पुनले भनिन्, “पहाडी क्षेत्रमा बादल लागेर हिमाल छोपिने हुँदा पर्यटक आगमन नभएको हो ।”

बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटकहरूका लागि थकान मेटाउने थलोका रूपमा रहेको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी र प्राकृतिक उपचार स्थलका रूपमा बेनी-४ स्थित सिंगा तातोपानी कुण्ड पनि सुनसान बनेको छ । 

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्व अध्यक्ष वीरेन्द्रमान शाक्यले पर्यटकीय याममा दैनिक एक हजारको हाराहारीमा स्नान गर्ने धार्मिक पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउनेमा अहिले दैनिक ५० जना पनि नपुग्ने गरेको बताए । 

म्याग्दीमा पदयात्रा, हिमाल आरोहण, हिमशृङ्खला, सूर्योदय, झरना, गल्छी, ग्रामीण जनजीवन र विभिन्न जातजातिको संस्कृतिको अवलोकनका लागि पर्यटक आउने गर्छन् । असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना पर्यटकीय यामका रूपमा मानिन्छ । 

जेठ, असार, साउन र भदौ महिना पर्यटक आगमन शून्य जस्तै हुने गरेको छ । पर्यटक आगमन बघेसँगै होटल तथा पर्यटन व्यवसायीहरू फुर्सदिला भएका छन्, पदमार्गमा चहलपहल छैन । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार म्याग्दीमा वार्षिक ३० हजारको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर