नवलपरासी : मंगलबार रातिदेखि परेको अविरल वर्षाले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ अन्तर्गत दाउन्ने जंगलस्थित खुर्सानी खोलानजिकको पूर्व–पश्चिम राजमार्गको एक भाग भासिएको छ । माटो धोसिएर करिब तीनदेखि चार फिट गहिरो खाल्डो बनेपछि बुधबार बिहानदेखि दुवैतर्फको सवारी आवागमन ठप्प भएको हो ।
घटनाको जानकारी बिहान सवा ६ बजे प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक दिपेन्द्र बानियाँको नेतृत्वमा ट्राफिकसहित १५ जना सुरक्षाकर्मी परिचालन गरिएको नवलपरासी प्रहरीले जनाएको छ ।
सडक भासिएको ठाउँमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८२७ नम्बरको ट्रक फसेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको जनाइएको छ । यद्यपि, घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ ।
सहयोगका लागि सशस्त्र प्रहरी बल बर्दघाटबाट पनि सशस्त्र प्रहरी निरीक्षक कुलबहादुर खड्काको कमान्डमा थप १५ जनाको टोली परिचालन गरिएको छ ।
लगातारको वर्षाले बर्दघाट नगरपालिका–१० स्थित लन्डनब्रिज क्षेत्रको राजमार्गभन्दा माथिल्लो बस्तीमा पहाडबाट आएको भेलले करिब ४०–४५ घरधुरी प्रभावित बनेका छन् । बस्तीमा बाढी पस्दा केही घरभित्र पानी पसेको भए पनि अहिलेसम्म ठूलो जनधनको क्षति नभएको स्थानीय प्रशासनको भनाइ छ ।
सडक मर्मतका लागि प्रयास भइरहेको जनाउँदै प्रशासनले केही समय सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जानकारी दिएको छ । वैकल्पिक मार्गको सुविधा नभएकाले यात्रुहरूलाई धैर्य गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।
त्यस्तै, जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा आवश्यक परेमा प्रहरी वा स्थानीय निकायसँग समन्वय गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।