नवलपरासी : लगातारको वर्षाका कारण भासिएको दाउन्ने जंगलस्थित पूर्व-पश्चिम राजमार्ग खण्डको सडक मर्मत गरिएपछि एकतर्फी सञ्चालनमा आएको छ । आज दिउँसोबाट एकतर्फीरुपमा सवारी आवगमन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ ।
आज बिहान बर्दघाट नगरपालिका–४, खुर्सानी खोला नजिकको राजमार्ग खण्ड करिब ३ देखि ४ फिटसम्म भासिएको थियो । जसका कारण दुवैतर्फी सवारी आवगमन पूर्णरूपमा अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मर्मत कार्य भएपछि अस्थायी रूपमा एकतर्फी ट्र्याक खोलिएको छ, जसबाट हल्का तथा केही सवारी साधनको आवगमन सम्भव भएको छ । थप मर्मत र पुनःनिर्माण कार्य भने जारी रहेको कार्यालयले जनाएको छ ।
प्रहरीले यात्रुहरूलाई अत्यावश्यकबाहेक उक्त खण्ड प्रयोग नगर्न र सुरक्षित सवारी सञ्चालन गर्न आग्रह गरेको छ ।