२०८२ असार २६ गते बिहिवार / Jul 10 , 2025 , Thursday
२०८२ असार २६ गते बिहिवार
Ads

स्कुलबाटै तीन बालक बेपत्ता

shivam cement
मध्यान्ह
२०८२ असार २५ गते १६:३२
स्कुलबाटै तीन बालक बेपत्ता

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका–३ स्थित कोहलपुर बागेश्वरी इंग्लिस मिडियम स्कुलमा अध्ययनरत तीन जना बालक स्कुलबाटै बेपत्ता भएका छन् ।

कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवन नाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का गत असार २२ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

उनीहरू हराएको तीन दिन बितिसक्दा पनि अवस्था अज्ञात छ भने प्रहरीले उनीहरू भारत पुगेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

स्कुलका प्रिन्सिपल विष्णु केसीका अनुसार विद्यार्थीहरू असार २२ गते दिउँसो ३ः५५ बजेसम्म स्कुलमै थिए र करिब ४ः३० बजेतिर बाहिर निस्केका थिए ।

प्रिन्सिपल केसीका अनुसार विद्यार्थीहरूले पहिल्यैदेखि भाग्ने योजना बनाएको कुरा उनीहरूका साथीहरूबाट थाहा भएको छ ।

खोजीका क्रममा उनीहरू हराएकै दिन साँझ ६ः३० बजेतिर विद्यालयबाट करिब २० किलोमिटर टाढा नेपालगन्जस्थित जिल्ला हुलाक कार्यालय अगाडि सिसी क्यामेरामा देखिएका थिए ।

‘नेपालगन्जको हुलाक कार्यालय अगाडि तीनै जनाले चाउमिन खाइरहेको दृश्य सिसी क्यामेरामा कैद भएको छ, त्यसपछि उनीहरू कहाँ गए भन्ने कुनै पत्तो छैन,’ केसीले भने ।

विद्यार्थीका आफन्तले भने घटनामा विद्यालयको चरम लापरबाही भएको आरोप लगाएका छन् । हराएकामध्ये कोहलपुर–३ मदनचोकका निरज थापा सोही स्कुलको होस्टेलमा बसेर अध्ययन गर्थे ।

होस्टेलबाटै विद्यार्थी हराउनुले विद्यालयको गैरजिम्मेवारीपन पुष्टि हुने निरजका आफन्त सन्ध्या शर्माले बताइन् ।  डेढ वर्षअघि पनि सोही विद्यालयका दुई जना विद्यार्थी हराएको र पछि कोहलपुरमै फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले प्रारम्भिक अनुसन्धानमा विद्यार्थीहरू भारत पुगेको हुन सक्ने संकेत देखिएको बताएकी छन् ।

उनीहरूको अवस्था पत्ता लगाउन भारतस्थित विभिन्न निकायसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ । 
 

ADV

सम्बन्धित खबर

Advertise