२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

Nada
२०८२ असार २६ गते ०८:३९
Shares
ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

दाङ : यहाँको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको थेरापी सेन्टरले आर्थिक अभाव झेल्नु परेको छ । तुलसीपुरस्थित अपाङ्ग समाज सुधारको सहकार्यमा सञ्चालित उक्त थेरापी सेन्टरले तीन जना कर्मचारीलाई ऋण खोजेर तलब खुवाउनु परेको जनाइएको छ ।  

ncell

उक्त थेरापी सेन्टरलाई उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छुट्याएको रु तीन लाख ५० हजार कर्मचारीको तलब नपुगेपछि थेरापी सेन्टर सञ्चालक समितिले ऋण खोजेर व्यवस्थापन गरेको अध्यक्ष ईश्वरीप्रसाद खड्काले जानकारी दिए । उनका अनुसार हाल एक जना थेरापिस्ट, एक जना थेरापी सहयोगी र एक जना कार्यालय सहयोगी यहाँ कार्यरत छन् । 

कर्मचारीको तलब मात्रै वार्षिक रु पाँच लाखभन्दा बढी हुने गरे पनि नगरपालिकाले पर्याप्त बजेट नछुट्याएका कारण अपुग रकम कतैबाट सहयोगमा नपाइएपछि ऋण खोजेर पनि तलब खुवाइएको अध्यक्ष खड्काको भनाइ छ । “नगरले दिएको बजेटले मात्रै पुगेन । त्यसैले रु एक लाख ५० हजारभन्दा बढी ऋण खोजेर आर्थिक मसान्तमा कर्मचारीलाई तलब खुवाएका हौँ ।”  उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाले केन्द्रको अपनत्व लिएको भए पनि अपाङ्ग समाज सुधार कार्यसमितिले पूर्ण रूपमा सञ्चालन गरिरहेको छ ।   

थेरापी सेन्टरमा हाल १९ जना कार्यरत छन् । त्यसमा नौ जना आवासीय रहेको र तीमध्ये नौ जनालाई साँझ–बिहानको खाना र दिउँसो नास्ता पनि ब्यहोर्ने गरिएको व्यवस्थापक हुमाकान्त कँडेलले बताए । “कसैको जन्मदिन, कसैको वैवाहिक वर्षगाँठका अवसरमा सहयोगमा प्राप्त दाल, चामललगायत सहयोगले जसोतसो व्यवस्थापन गरिरहेका छौँ”, उनले भने । 

विसं २०७८ चैतदेखि सञ्चालनमा ल्याइएको थेरापी सेन्टरबाट सबै सेवा निःशुल्क प्रदान हुँदै आएको छ, तर सरकारी निकायबाट अत्यावश्यक बजेटसमेत व्यवस्थापन हुन सकेको छैन । अपाङ्ग समाज सुधार केन्द्रकै दुईतले भवनमा सेन्टर सञ्चालनमा छ । आवश्यक सबै सामग्री पनि छन् । लुम्बिनी प्रदेशमा सरकारी स्तरबाट सञ्चालित दुई वटा मात्रै थेरापी सेन्टर रहेकाले यसलाई पनि सङ्घ र प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने सरोकारवालाहरूको माग छ । 

ताजा खबर

सम्बन्धित खबर