म्याग्दी : म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला-राहुघाट प्रसारण लाइनको परीक्षण थालिएको छ ।
पैँतीस मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन चिमखोला देखि गलेश्वर स्थित राहुघाट जलविद्युत आयोजनाको स्विचयार्ड सम्म १३ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको हो ।
नेपाल विद्युत् प्राधिकरण मार्फत रघुगङ्गा-३ अम्बाङमा निर्माणाधीन सवस्टेशन सम्पन्न नहुँदा सम्मको लागि अस्थायी रूपमा राहुघाटको स्विचयार्डबाट २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइन मार्फत केन्द्रीय प्रणालीमा विद्युत् पठाउन लागिएको चिमखोला-मंगले राहुघाट र माथिल्लो राहुघाटको प्रवर्द्धक तुँदि पावरका प्रतिनिधि उपेन्द्र गौतमले बताए ।
चिमखोला-मंगले राहुघाट र ठूलोखोला जलविद्युत आयोजनाको बाँध, सुरुङ, पेनस्टक पाइप लगायत भौतिक संरचना र विद्युतगृहका उपकरणको परीक्षण भइसकेको छ । माथिल्लो राहुघाट र माथिल्लो ठूलोखोला निर्माणको अन्तिम चरणमा छन् ।
चिमखोला देखि गलेश्वर स्थित राहुघाटको स्विचयार्ड जोड्ने प्रसारण लाइनमा विद्युत् आपूर्ति गराएर परीक्षण गराउन थालिएको तुँदिका प्रतिनिधि गौतमले बताए । परीक्षण लगत्तै केन्द्रिय प्रणालीमा विद्युत् जोडिने उनले बताए। चिमखोला देखि राहुघाटसम्म ३९ टावर छन् ।
चार आयोजनाले सहकार्य गरेर एउटै प्रसारण लाइन मार्फत विद्युत् आपूर्ति गर्ने संरचना बनाएका छन् । एक देखि अर्को आयोजनाको स्विचयार्ड सम्म सम्बन्धित आयोजना र त्यसपछि सवस्टेशनतर्फ सहकार्य गरेर प्रसारण लाइन बनाएका हुन् ।
परीक्षण शुरु भएको प्रसारण लाइनको टावर र तार नछुन तथा राहुघाट नदी किनारमा जाँदा सतर्कता अपनाउन तुँदि पावरले बिहीबार एक सार्वजनिक सूचना जारी गरेर प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आग्रह गरेको छ । रघुगङ्गा गाउँपालिकाको ३, ४ र ७ नम्बर वडामा प्रसारण लाइन र टावर निर्माण भएको छ ।
विद्युतगृहमा पानी हाल्न थालेपछि नदीको सतह घटबढ हुने हुँदा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, दाउरा छोप्न नदी किनारमा नजान तथा गाईबस्तु र पशुचौपाया नलैजान आयोजनाले अनुरोध गरेको हो ।