काठमाडौं : त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारण सभाले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३औं ग्रेसलिष्ट पारित गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको साधारण सभाले रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो ।
बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कुलपति ओलीले विश्वविद्यालयलाई २१औं शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रुपमा स्थापित गर्न आग्रह गरे ।
सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए ।
नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिब चार हजार) विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।