काठमाडौं : नेपाली सेनाले बाजुरास्थित बडीमालिका मन्दिरको पुनर्निर्माण गरेको छ ।
समुन्द्र सतहदेखि करिब ४,२२० मिटर उचाइमा मल्लागिरी पर्वतमा अवस्थित ऐतिहासिक, पुरातात्त्विक र धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यो मन्दिर नेपाली जनआस्थाको महत्वपूर्ण केन्द्रका रूपमा चिनिन्छ । नेपाली सेनाले २०८१ चैत २८ गतेबाट सुरु गरेको पुनर्निर्माण कार्य २०८२ असार २३ गते सम्पन्न गरेको हो ।
पुनर्निर्माण अवधिभर मन्दिर श्रद्धालु भक्तजनका लागि खुला राखिएको थियो । नेपाली सेनाका अनुसार मन्दिर पुनर्निर्माण कार्य पुरातत्व विभागको स्वीकृत डिजाईन र प्राविधिक सहकार्यमा, प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौं संशोधनसहित)को दायराभित्र रही सम्पन्न गरिएको हो । परम्परागत निर्माण शैली र सामग्रीको प्रयोग गरी मन्दिरको मौलिक स्वरूप जर्गेना गरिएको छ ।
भक्तपुर र ललितपुरका दक्ष कालिगढहरूको सहयोगमा त्रिवेणी नगरपालिकाको समन्वयमा निर्माण कार्य अघि बढाइएको थियो । रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, त्रिवेणी नगरपालिका, मन्दिरका पुजारी नेत्रप्रसाद उपाध्याय तथा स्थानीयवासीको संयुक्त प्रयासमा करिब दुई महिनाभित्रै निर्माण सम्पन्न गरिएको हो ।
विकट भूगोल, प्रतिकूल मौसम र सामग्री ढुवानीका कठिनाइका बाबजुद सम्पन्न गरिएको यस पुनर्निर्माणले बडीमालिका मन्दिरको ऐतिहासिक र धार्मिक महत्व संरक्षण गर्नुका साथै पर्यटकीय सम्भावना विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।