काठमाडौं : उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फर्छ्यौट गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालतका रजिस्ट्रार श्रीलाल पौडेलले यस वर्ष ११ हजार ८ सय ४५ थान मुद्दा नयाँ दर्ता भएको बताए । त्यसमध्ये ११ हजार ३ सय २३ थान मुद्दाहरु फर्छ्यौट गर्नुपर्ने लक्ष्य रहेकोमा यस आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फर्छ्यौट गरेको उनले बताए ।
असार २५ गतेसम्म कुल लक्ष्यको ९९.२१ प्रतिशत मुद्दा फर्छ्यौट भएको उनले बताए । उनले अझै ५ दिन बाँकी रहेको र यो समयसम्म शतप्रतिशत लक्ष्य हासिल गर्ने दाबी गरे । उच्च अदालत पाटनको इतिहासमै पहिलो पटक दुई वर्ष नाघेका मुद्दाहरु शून्य बनाउन सफल भएको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाअनुसार पहिलो वर्ष पूरा गरेको र सबै अदालतहरुको प्रगति सन्तोषजनक रहेको बताए ।
योजनाले राखेका लक्ष्यहरुतर्फ प्रयास उन्मुख रहेको उनले बताए । पाटन उच्च अदालतले लक्ष्य प्राप्ति पूरा गरेको उनले बताए । न्याय सम्पादन छिटो, छरितो बनाउने कुरा नै महत्वपूर्ण रहेको उनले बताए । उनले नयाँ दर्ता हुने मुद्दाको संख्या पनि बढेको बताए ।
मुख्य न्यायाधीश कुँवरले आागमी आर्थिक वर्षमा मुद्दाहरु १८ महिना नाघ्न नदिने गरी लक्ष्य निर्धारण गरेर अघि बढ्ने बताए ।