निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गएको ५ पुसमा प्रतिनिधिसभा विघटन गरेर शुरु गरेको राजनीतिक एवम् संवैधानिक संकट थिग्रने चरणमा पुगेको छ । ओलीको सत्ता बहिगर्मन पछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । तर गएको साता महिनाको उतारचढाब अझै सामान्य बन्न सकेको छैन । हुन पनि बितेको सात महिनामा ओलीले मुलुक नै संकटतर्फ धकेल्ने प्रयास गरेका थिए । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण ओलीले विघटन गरेको संसद् ११ फागुनमा पुनर्स्थापना भएको थियो । त्यसपछि संवैधानिक संकट टरेपनि राजनीतिक संकट कायमै रह्यो । त्यही राजनीतिक संकट लम्ब्याउँदै ओलीले फेरि ७ जेठमा दोस्रो पटक संसद् भंग गरे । तर फेरि पनि २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना भयो ।
यो पुनर्स्थापनाले भने राजनीतिक संकट कम्तिमा तत्काललाई हल गरेको छ । अदालतले संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । अदालतको परमादेशपछि २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाले विश्वासको मत समेत पाइसकेका छन् । देउवालाई काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टी (जसपा) को ३२ र राष्ट्रिय जनमोर्चाको एक सांसद सँगै नेकपा एमालेकै २२ सांसदले पनि विश्वासको मत दिए । अर्थात् देउवा १६५ मत पाउँदै प्रधानमन्त्री नियुक्त भएका छन् । देउवाको काँधमा डिरेल हुन पुगेको संविधान जोगाउँदै जनताको अपेक्षा पूरा गर्नु रहेको छ ।
तर देउवालाई विश्वासको मत दिएसँगै एमालेभित्रको कलह भने चर्किएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले फेरि पनि माधव नेपाल समूहलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । सँगै माधव नेपाल सहितका नेताहरुप्रति चर्को आलोचना सहित सडक प्रदर्शन भइरहेको छ । यहाँ मुलुक सामान्य अवस्थाबाटै अगाडि बढ्छ वा बढ्दैन भन्दा पनि राजनीति इमानमा रहन्छ वा रहन्न भन्ने प्रमुख चासो देखिन्छ । किनभने माधव नेपाल विरुद्ध ओलीले दिएका अभिव्यक्ति र उनका समर्थकहरुले गरेको विरोध असमान्य छ । कोरोनाकाल बिर्सिएर पुत्ला दोहन गर्ने मात्रै नभएर अभद्र शैली अपनाइएको छ । यसले संवैधानिक ट्र्याकमा आएको राजनीति बिकृत बन्ने भय देखिन्छ । जुन नियन्त्रण मुलुक, समाज, संविधान र प्रणालीका लागि पनि आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies