काठमाडौं : २०७२ सालको भूकम्पले पूर्ण रूपमा क्षति पु¥याएपछि पुनः निर्माण भएर सञ्चालनमा ल्याएको धरहराबाट ४ करोड ८३ लाखभन्दा बढी राजस्व संकलन गरिएको छ ।
गत मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट असार २४ गतेसम्ममा ४ करोड ८३ लाख ६५ हजार ५ सय राजस्व संकलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।
उनका अनुसार यस अवधिमा २ लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरेका छन् । जसमा १ हजार ५४९ जना विदेशी अवलोकनकर्ता छन् । साताको बुधबार बन्द हुनेबाहेक अन्य दिन दैनिक करिब १ हजार २ सयले धरहरा चढ्ने गरेका छन् ।
‘बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी धरहरा अवलोकनको व्यवस्था गर्न सकिएको छैन,’ व्यवस्थापन एकाइ प्रमुख राईले भने, ‘बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्नसक्ने हो भने दैनिक १ हजार ५ सयभन्दा बढीले धरहरा चढ्ने अनुमान छ ।’
धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति १ हजार शुल्क तोकिएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मङ्सिर ९ देखि धरहरा सञ्चालनमा आएको हो । त्यसअघि मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा चढ्ने शुल्क स्वीकृत गरेको थियो ।