काठमाडौं : संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौं महानगरपालिका–२६ को सहयोग र ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरेको हो।
केन्द्रको शुक्रबार बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरीले शुभारम्भ गरे ।
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेश सरकारले प्रदेशभित्रका सबै जिल्लाको पर्यटकीय गन्तव्यलाई समेटेर ‘ट्राभल बुक’ प्रकाशन गर्न लागेको जानकारी दिए । उनले पर्यटन सूचना केन्द्रलाई प्रविधिसँग जोडेर अगाडि बढ्न प्रदेश सरकार लागिरहेको उल्लेख गरे ।
सूचना केन्द्रबाट पर्यटकलाई नेपालको पदमार्ग, यातायात, होटल, स्थानीय कला संस्कृतिलगायतका बारेमा जानकारी प्रदान गरिने बागमती प्रदेश पर्यटन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख पवनकुमार पोखरेलले जानकारी दिए । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (बिमल) धमलाले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान चिनाउने ठमेललाई व्यवस्थित गर्न परिषद्ले काम गरिरहेको बताए ।