भोजपुर : उत्तर क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा आएको छ । ‘स्वास्थ्य नागरिक, जिम्मेवार पालिका’ भन्ने नारालाई आत्मसात् गर्दै शुक्रबार कार्यक्रमका बीच अस्पतालको औपचारिक शुभारम्भ गरिएको हो ।
त्यस अवसरमा नगरप्रमुख सुरेन्द्रकुमार उदासले अस्पताल सञ्चालनले स्थानीय नागरिकले घरछेउमै स्वास्थ्य सेवा प्राप्त गर्ने बताए । उनले भने, ‘पालिकावासीसहित छिमेकी पालिकाका नागरिकको स्वास्थ्य सेवालाई पनि प्रभावकारी बनाउन नगर अस्पताल सञ्चालनमा ल्याएका हौं । अब अस्पताललाई व्यवस्थित र दिगो रूपमा सञ्चालन हुने वातावरणका बनाउन सबै लाग्न आवश्यक छ ।’
भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको महात्मा गान्धी अस्पताल भवनबाट नगर अस्पताल सञ्चालनमा आएको हो ।
नगरपालिकाको वडा नं ७ मा स्थापना भएको अस्पतालले ससाना स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यसअघि ससाना स्वास्थ्य समस्याका लागि पनि यहाँ नागरिकले छिमेकी जिल्ला सङखुवासभा, धरान, विराटनगरजस्ता सहरमा जानुपर्ने बाध्यता रहेको थियो ।
नगर उपप्रमुख प्रमिला राईले आँखा उपचार सेवा सञ्चालन हुँदै आएकामा अब छिट्टै दन्त उपचार सेवा विस्तार गरिने बताइन् । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले आवश्यक जनशक्ति र उपकरण थप गर्दै लाने योजना बनाएको पनि उनले जानकारी गराइन् ।
स्थानीयवासी पनि सञ्चालित अस्पतालले नगरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेमा आशावादी देखिएका छन् ।