रौतहट : ईशनाथ नगरपालिकामा हालै सार्वजनिक एसईईको परीक्षाफल अत्यन्तै कमजोर आउनु शिक्षा प्रणालीप्रति नै गम्भीर चिन्ताको विषय बनेको छ । आर्थिक वर्ष २०८१÷८२ को नतिजाले नगरपालिकाको विद्यालय शिक्षामा संरचनात्मक कमजोरी र शिक्षक व्यवस्थापनमा सुधारको खाँचो देखाएको छ ।
नगरभित्रका विद्यालयको शिक्षालाई राजनीतिक नाराको विषय मात्र नबनाई, व्यवहारिक सुधारको एजेन्डा बनाउनुपर्ने माग सर्वत्र उठ्न थालेको छ । यसै सन्दर्भमा, शिक्षा क्षेत्रमा सुधार ल्याउने स्पष्ट योजनासहित अञ्जु झा अगाडि आएकी छन् ।
मेयरको जिम्मेवारी सम्हाल्ने अवसर पाएको खण्डमा सम्पूर्ण शिक्षा प्रणालीमा सुधार गर्ने, शिक्षक व्यवस्थापनलाई प्रभावकारी बनाउने र आधुनिक शिक्षामा केन्द्रित नीति लागू गर्ने योजना प्रस्तुत गरेकी छन् ।
‘अब शिक्षालाई प्राथमिकतामा राख्ने नेतृत्व आवश्यक छ, जसले नयाँ पुस्ताको आवश्यकता बुझ्छ,’ झाले भनिन् ।
स्थानीय नागरिकहरूले यस वर्षको कमजोर परीक्षाफललाई ‘कालो वर्ष’ को रूपमा लिनुपर्ने र त्यसविरुद्ध व्यापक जनचेतना अभियान चलाउनुपर्ने विचार राखेका छन् । उनीहरूले शिक्षाको गुणस्तर सुधार्न सामूहिक छलफल र नीति निर्माणमा स्थानीय तहको सक्रियता आवश्यक रहेको बताएका छन् । झा जस्ता सक्षम र शिक्षित नेतृत्वको समर्थनमार्फत ईशनाथ नगरपालिकाको शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने स्थानीयबासीको विश्वास रहेको छ ।