गोमती पाल/ मध्यान्ह
महेन्द्रनगर, ७ साउन : कन्चनपुरको कृष्णपुर नगरपालिकामा स्थानीय तह निर्वाचनपछि अधिकांश वडाले नयाँ भवनबाट दैनिक कामकाज सञ्चालन गर्न थालेका छन् ।
कृष्णपुरका ९ वडामा ६ वडाको नयाँ भवनबाट कामकाज सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षमा वडा नं. ६, ८ र ९ मा नयाँ भवन निर्माण गरी वडा कार्यालयका कामकाज सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।
वडा कार्यालयका काकामकाज व्यवस्थित गरी स्थानीयलाई सहज रुपमा सेवा प्रवाह गर्न वडा कार्यालयको नयाँ भवन सञ्चालन गरिएका छन् । यस अघि तत्कालिन कृष्णपुर गा.वि.स.का पुराना भवन तथा भाडाका घरमा वडा कार्यालय सञ्चालन गरिएको थिए ।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले वडा कार्यालयको आफ्नै भवन भएपछि स्थानीयलाई छिटो छरितो र सहज रुपमा सेवा पाउन सहज हुने बताए । ‘
सिंहदरबारको अधिकार गाउँसम्म पुगाउने भनिएको छ , त्यसै अनुसार वडा कार्यालय भवन निर्माणलाई प्राथमिकता दिइएको छ’ नगर प्रमुख हमालले भने, ‘अब जनताले चुस्तदुरुस्त तबरले सहज रुपमा सेवा पाउने कुरामा दुई मत छैन ।’ उनले नयाँ भवनहरु सबै सेवा एकीकृत रुपमा उपलब्ध हुने गरी सञ्चालन गरिएको बताए ।
वडा नं. २ मा नगरको गौरवको योजनाका रुपमा नगर उद्यान पार्क निर्माण अघि सारिएको मेयर हमालले बताए । मेयर हमालले रिबन काटेर वडा कार्यालय भवन उद्घाटन गरेका थिए ।
कृष्णपुर नगरपालिकाकाकी उपमेयर रमिता रानाले अन्य वडा कार्यालय भवन पनि समयमै निर्माण भएर सञ्चानलमा आउने बताइन् । ‘हामी जनताको प्रतिनिधि हौ, जनता बिना हामीहरुको कुनै अर्थ छैन, त्यसकारण जनताको माग आकाँक्षा अनुसार अघि बढ्छौ’ उनले भनिन् ।
कृष्णपुर नगरपालिका-२ का वडाध्यक्ष जयनारायण जोशीले दृढ इच्छा शक्तिका साथ अघि बढे कुनै पनि काम गर्दा अप्ठ्यारो नपर्ने बताए ।
वडाध्यक्ष जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा मेयर हमाल सहित उप मेयर राना, एमाले जिल्ला कमिटि सदस्य लोकेन्द्र पन्त, नेकपा माओवादी केन्द्रका अर्जुन साउँद लगायत जनप्रतिनधि स्थानीय सहभागी भएका छन् । रेश्मी विल्डर्स निर्माण कम्पनिले ठेक्का पाएको भवन निर्माणमा एक करोड १२ लाख ३७ हजार लागत लागेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies