२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

प्रधानमन्त्री ओलीद्वारा भागीरथा अस्पताल उद्घाटन

Nada
२०८२ असार २८ गते १३:५३
Shares
प्रधानमन्त्री ओलीद्वारा भागीरथा अस्पताल उद्घाटन

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबीच भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन् । 

ncell

बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो । नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उनका छोराछोरीले प्रदान गरेको उक्त जग्गामा अस्पताल निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज प्रसाईंले बताए ।

स्व। भागीरथा न्यौपाने तत्कालीन बुधवारे गाउँ पञ्चायतको प्रधानपञ्च थिए । उनकै स्मृतिमा अस्पतालको नामकरण गरिएको हो । अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित छ जना चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छन् । जसमध्ये पालिकाले आफ्नै स्रोतबाट तीन जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ ।

बहिरङ्ग र अन्तरङ्ग चिकित्सकीय सेवाअन्तर्गत अस्पतालमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसूति उपचार, शिशु तथा बाल स्वास्थ्य उपचार, सामान्य दन्त सेवा, प्राथमिक आँखा उपचार, प्रयोगशाला सुविधा, फार्मेसी सुविधा, एक्स रे सुविधा र मुटुको इको सेवा सञ्चालन भइरहेको छ ।

आगामी साउन १ गतेदेखि अस्पतालमा २४ घण्टै उपचार र बर्थिङ सेवा प्रदान गरिने अध्यक्ष प्रसाईंले बताए । पालिकाले गत जेठ २६ गते भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८२ लाई बुद्धशान्ति राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए ।

कार्यविधिअनुसार पालिकाका अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको पदेन अध्यक्ष रहने व्यवस्था छ । अस्पताल सञ्चालनका लागि कार्यविधिले छुट्टै कोषको समेत व्यवस्था गरेको छ ।

इलाम जिल्लासँग सीमा जोडिएको बुद्धशान्ति गाउँपालिकाको एक मात्र सरकारी अस्पतालको रूपमा रहेको यस भागीरथा अस्पतालले बुद्धशान्तिको ५३ हजार जनसङ्ख्यालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्नेछ भने दक्षिणी इलामबाट आउने सेवाग्राहीले उपचार पाउनेछन् ।

ताजा खबर

सम्बन्धित खबर