दोहा (कतार) : नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले कतारमा आयोजित उज्यालो संवाद कार्यक्रम २०२५ लाई सम्बोधन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा विद्युत् आयात गर्नुपर्ने अवस्थाबाट निर्यात गर्ने अवस्थासम्म पु¥याए पनि त्यसको सम्मान आफूले बर्खास्त पाएको बताए ।
१०४ वर्षमा ८०० मेगावाट बिजुलीको उत्पादन भइरहेको देशमा आफू कार्यकारीका रूपमा आएको ८ सालमा ३६०० मेगावाट उत्पादन हुने गरेको बताउँदै आफू चेपाङ बस्तीमा बत्ती बाल्दै गर्दा बर्खास्तमा परेको स्मरण गरे । ३ जना प्रधानमन्त्री र ११ जना मन्त्रीसँग कार्यसम्पादन गर्दै गर्दा आफूले सबैसँग सुमधुर सम्बन्ध स्थापित गरे पनि आफूलाई ६ पटक सम्म स्पष्टीकरण सोधेर बर्खास्त गरेको स्पष्ट पारे ।
विदेशबाट १४ खर्ब रुपैयाँ रेमिटेन्समार्फत भित्रने गरेको बताउँदै त्यसको १० प्रतिशत मात्रै विद्युत्मा लगानी गर्ने सके आगामी १० वर्षमा २० हजार मेगावाट उत्पादन गर्न सकिने बताए । नेपालमा कृषि र पर्यटनमा पनि उत्तिकै सम्भावना रहेको उनले बताए ।
घिसिङले नेपालमा ग्रिन हाइड्रोजन उत्पादन गरेर नेपालले बेच्न सक्ने सम्भावना रहेको बताए । उनले सगरमाथाको देशको पानी भनेर ब्रान्ड गरेर पनि नेपाल खरबपति बन्ने धारणा राखे । गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) कतारका अध्यक्ष रमेश भट्टको सभाध्यक्षता र घिसिङकै प्रमुख आतिथ्यता रहेको कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ र एनआरएनए एनसीसी कतारले संयुक्त रूपमा आयोजना गरेका हुन् । उज्यालो संवाद कार्यक्रम २०२५ लाई करिब एक घण्टा सम्बोधन गरेका घिसिङले नेपाल नै कतारमा बसेको आफूले पाएको बताए ।
प्रवासमा रहेका नेपालीले कला संस्कार संस्कृतिको उत्कृष्ट जगेर्ना गरेको आफूले पाएको धारणा राखे । उनले मध्यपूर्वको भ्रमणको क्रममा प्रवासमा नेपालीहरू वैचारिक धारमा पाएको बताउँदै विदेशमा नेपाली मात्र बनेर बस्न सुझाव दिए ।
नेपालको जिडिपीको एक चौथाइ भन्दा बढी रकम खाडीबाट नेपाल भित्रने गरेको बताए । उनले भने, ‘कुनै पार्टीले मलाई नियुक्ति गर्दै गर्दा पार्टीको बिल्ला नभिराउन आग्रह गर्दै मलाई माओवादीले राइटमेन देखेर राइट ठाउँमा राखेको हो ।’ उनले पार्टी र व्यक्ति नहेरी देशभरी विद्युतीकरण गरेको र त्यो आफ्नो जिम्मेवारी रहेको बताए ।
नेपालमा स्वतन्त्र रूपमा रहेका मेयरहरूलाई सरकारले सपोर्ट गर्नुको सट्टा असहयोग गरेको धारणा उनले राखे । उनले देशमा सकारात्मक कार्य गर्ने भन्दा निराशा फैलाउने प्रवृत्ति हाबी भएको बताए ।
नेपालमा अँध्यारोमा धेरै व्यापार हुने गरेको र अब उज्यालो अभियान थाल्ने बेला आएको बताउँदै उज्यालो नेपाल भनेको नेपालको समृद्धि अभियान रहेको हुँदा अभियानमा विशेष गरी युवाहरूलाई जुट्न आग्रह गरे ।
उनले सामाजिक सञ्जालमा कुलमान कहीबाट चुनाव उठ्दै छ भन्ने हल्लाको खण्डन गर्दै आफू चुनाव नलड्ने बताए । नाफामा रहेको प्राधिकरण कसरी एक महिनामा घाटामा गयो ? कसरी ऋण रह्यो भनि प्रतिप्रश्न गरे ।
महालेखाले गरेको अडिट पनि गलत देखाउँदै ऊर्जा क्षेत्रलाई समेत खराब क्षेत्रका रूपमा अँध्यारो तिर लैजान खोजिएको जिकिर गरे ।
कार्यक्रममा कुलमानलाई कतारमा स्थापित संघसंस्थाको तर्फबाट सम्मान समेत गरिएको थियो । फूलबारीको हलमा कुलमानको सम्बोधन सुन्न र उनलाई प्रत्यक्ष हेर्न करिब ५०० नेपाली उपस्थित रहेका थिए ।
जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठले स्वागत मन्तव्य र महासचिव हरि महतोले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भट्टले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । भट्टले एनसीसी कतारमा केही भ्रष्टहरू रहेको र तीनलाई समाजबाट निर्मूल पार्नुपर्ने बताए ।
केही भ्रष्टहरूले विदेशीहरूको झोला बोकेर राजनीति गरिरहेको बताउँदै एनसीसी कतार सामाजिक र साझा संस्था रहने बताउँदै कतारमा रहेका नेपालीहरू सचेत रहनुपर्ने बताए ।