विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिकाले ‘ढुकुर जोडी’लाई सम्मान गरेको छ । नगरका १२ वटै वडाबाट एक–एक उत्कृष्ट दम्पतीलाई सार्वजनिक रूपमा आइतबार सम्मान गरेको हो ।
पति–पत्नीबीचको आपसी समझदारी, संयम र पारिवारिक मर्यादालाई मूल्यांकन गर्दै नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम गरेको हो । नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी ‘ढुकुर जोडी’को खोज गरेको थियो । ४८ दम्पतीले आवेदन दिएका थिए । तीमध्ये नगरपालिकाको मापदण्डअनुसार १२ वडाबाट एक–एक दम्पती छनोट गरी प्रत्येक जोडीलाई नगद १० हजारसहित सार्वजनिक रूपमा सम्मान गरेको हो ।
नगर प्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले संयुक्त रूपमा सबै दम्पतीलाई सम्मान गरे ।
सम्मानित हुने दम्पतीहरूमा सुन्दरहरैँचा–१ बाट केशवप्रसाद काफ्ले र कञ्चन दाहाल, २ बाट सचिदानन्द साह र संगीताकुमारी गुप्ता, ३ बाट ध्रुव निरौला र अनु दाहाल, ४ बाट डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल र ५ बाट वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल दम्पती छन् ।
त्यस्तै, सुन्दरहरैँचा–६ बाट बालकृष्ण घिमिरे र सकुन्तला गौतम घिमिरे, ७ बाट बलिराम चौधरी र फुलोदेवी चौधरी, ८ बाट खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने, ९ बाट योगराज कार्की र हिमकुमारी कार्की, १० बाट बौद्वबहादुर दाहाल र कल्याणी खड्का दाहाल, ११ बाट वेदकुमार खवास र केसवती खवास तथा १२ बाट अम्बरबहादुर मगर र ताराकुमारी मगर दम्पतीलाई सम्मान गरिएको छ ।
न्यायिक समितिका उजुरी प्रशासक निरज न्यौपानेका अनुसार पति–पत्नीबीचको विवादजन्य उजुरी बढ्दै गएपछि सामाजिक सद्भाव र अनुकरणीय उदाहरण स्थापनाका लागि नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’ कार्यक्रमलाई नीति तथा कार्यक्रममै समेटेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश फैलाउने लक्ष्य राखिएको बताए । उनका अनुसार संयुक्त परिवारमा बस्ने, वैवाहिक जीवनमा कहिल्यै झगडा नभएका, सामाजिक रूपमा सक्रिय रहेर छरछिमेकी तथा समुदायसँग राम्रो सम्बन्ध कायम राख्नेलाई प्राथमिकताका आधारमा उत्कृष्ट दम्पतीको रूपमा छानिएको हो ।
नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक अकली चौधरीले सम्मानित प्रत्येक जोडीको तस्बिर वडा कार्यालयमा १ वर्षसम्म प्रदर्शन गरिने जानकारी दिइन् । साथै, उनीहरूको स्वास्थ्य बिमा पनि नगरपालिकाले निःशुल्क गरिदिने उनको भनाइ छ ।
नगरपालिकाले यस कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने बताएको छ । विवाह, परिवार र सामाजिक सहिष्णुताको सकारात्मक अनुकरणीय अभ्यासलाई प्रवद्र्धन गर्न यस्ता कार्यक्रमलाई सामाजिक परिवर्तन तर्फको प्रयासका रूपमा लिइएको नगरपालिकाको भनाइ छ ।