२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पुनः विद्युत प्राधिकरणमा फर्कने सम्भावना छैन : कुलमान

Nada
तिलु शर्मा पौडेल
२०८२ असार २९ गते १६:४१
Shares
पुनः विद्युत प्राधिकरणमा फर्कने सम्भावना छैन : कुलमान

दोहा, कतार : उज्यालो नेपाल अभियान लिएर मध्यपूर्वको भ्रमणमा निस्किएका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ कतारमा सम्मानित भएका छन् । शुक्रबार एनआरएनए एनसीसी र नेपाल आदिवासी जनजाति महासंघ कतारले संयुक्त रूपमा आयोजना गरेको उज्यालो संवाद कार्यक्रम २०२५ लाई सम्बोधन गर्न कतार आएका घिसिङलाई शनिबार साँझ जनजाति महासंघले सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गर्दै दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।

ncell

महासंघका अध्यक्ष राकेश श्रेष्ठको सभाध्यक्षता तथा घिसिङकै प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै घिसिङले आफू मध्यपूर्वको भ्रमणमा निस्कनुको मुख्य कारण उज्यालो नेपाल अभियान रहेको बताए । उनले उज्यालो अभियानको बारेमा स्पष्ट पार्दै नेपालमा अँध्यारो फैलिएको र त्यसलाई चिर्न आवश्यक रहेकाले आफू अब प्राधिकरणमा नफर्कने बताउँदै देशको आमूल परिवर्तनका लागि आफूले बाँकी समय खर्चने बताए । सरकारले आफ्नो कामको मूल्यांकन गर्दै शून्य अंक दिएको बताउँदै नेपालमा सुशासनसहित सामाजिक न्यायका क्षेत्रमा धेरै काम गर्नु पर्ने आवश्यकता रहेको बताए । उनले सरकारको दायित्व रोजगारी दिनु भए पनि खोइ त नेपालीलाई सरकारले प्रवास आउन रोकेको भन्दै प्रश्न गरे । उज्यालो नेपाल भविष्यमा राजनीतिक दलमा परिणत हुने हो भन्ने मध्यान्हको प्रश्नमा भने उनले त्यो अहिले सस्पेन्स नै रहन दिन आग्रह गरे । 

कार्यक्रममा बोल्दै एनआरएनए एनसीसी कतारका अध्यक्ष भट्टले २४ सै घण्टा बत्ती नजाने प्रवासमा रहेका हामी नेपाल जाँदा मोबाइलसम्म चार्ज गर्न नसकिने अवस्थालाई चिरेर उज्यालो बनाइदिएकोमा कुलमानलाई धन्यवाद ज्ञापन गरे । उनले एनआरएनए एनसीसीमा बद्री केसीले हस्तक्षेप गर्दै एनसीसीले सर्वोच्चको फैसला कुरौं या अक्टोबरसम्म पर्खेर हेरौं भन्ने नीति लिन खोज्दा पनि हस्तक्षेप गरेको बताए ।

महासंघका तृतीय उपाध्यक्ष पेम्बा शेर्पाले स्वागत मन्तव्य राखेको कार्यक्रममा विशेष सल्लाहकार पुरुषोत्तम सुनुवारले महासंघको स्थापना गर्नुका कारण र यसले गरेका कार्यसम्पादनका बारेमा संक्षिप्तमा जानकारी गराएका थिए । महासचिव हरि बहादुर महतोले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष श्रेष्ठले साधारण शैलीमा मेहनत गर्दै अँध्यारो नेपाललाई उज्यालो बनाउन सफल भएकोमा आभार व्यक्त गरे । उनले महासंघ कतार सदैव कुलमानका असल कर्मको साथमा रहने बताए l

यस्तै घिसिङ आयोजक संस्थाद्वय बाहेक नेपाली जनप्रगतिशील मञ्च, नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, थारु कल्याणकारिणी सभा कतार च्याप्टर, नेपाल प्रवासी तामाङ समाज, बागमती प्रदेश समन्वय परिषद्, रामेछाप सेवा समाज कतार लगायतका संस्थाबाट सम्मानित भएका छन् l

ताजा खबर

सम्बन्धित खबर