विगत लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा लोकप्रियताको शिखरमा रहेको नाम हो, रेनिस फागो । रेनिस नेपालका अब्बल रंग संयोजक हुन् । त्यसैले उनी नेपालका छायांकार, निर्माता र निर्देशकको पहिलो रोजाइमा पर्छन् । फिल्मका कथाहरुलाई न्यायिक ढंगले रंग संयोजन गर्दै आफ्नो कला सीप र क्षमता देखाउँदै आएका फागोले हालसम्म करिब पाँच दर्जन फिल्ममा रंग संयोजन कला देखाइसकेका छन् । उनले बलिउडका फिल्म र म्युजिक भिडियोमा समेत काम गरिसकेका छन् । रेनिसले पाँच दर्जन बढी म्युजिक भिडियोमा समेत आफ्नो कला देखाइसकेका छन् । उनले नेपालमा आयोजना भएका थुप्रै राष्ट्रियस्तरका अवार्डमा रंग संयोजन विधामा अवार्ड जितेका छन् । दक्ष प्राविधिकका रुपमा फागोले नेपाली चलचित्र क्षेत्रको स्तरोन्नतिका लागि महत्वपूर्ण योगदान दिएका छन् । नेपालमा डिजिटल फिल्म क्यामरा रेड फोरके क्यामरा भित्राउने श्रेय द स्काइ मुभिजलाई जान्छ । यही क्यामराबाट खिचिएको पहिलो फिल्म ‘काठमाण्डू’को रंग संयोजन गर्ने पहिलो रंग संयोजक रेनिस नै हुन् । अब्बल प्राविधिकका रुपमा नेपाली फिल्ममा योगदान दिइरहेका रेनिस फागोले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
रंग संयोजन विधामा कसरी जोडिनुभयो ?
मलाई सानैदेखि कला र सिर्जनात्मक काममा एकदमै रुची थियो । म सानैदेखि पेन्सिल स्केच गर्थें । टेलिभिजनमा कुनैदिन मेरो पनि अन्तर्वार्ता आए हुन्थ्यो जस्तो लाग्थ्यो । सानोमा फिल्महरु पनि खुबै हेर्थें । समयसँगै यो रुची अझ बढ्दै गयो । फिल्म प्राविधिकका रुपमा काम गर्छु भन्ने हेतुले मल्टीमिडिया कोर्ष पढ्न थालें । बलिउड, हलिउडको फिल्मको तुलनामा हाम्रो फिल्मको गुणस्तर निकै कम लाग्थ्यो । यो कुरा जहिल्यै मेरो मनमा खड्किइरहन्थ्यो । हाम्रो फिल्मको गुणस्तर पनि राम्रो होस् भन्ने लाग्थ्यो । मैले मल्टीमिडियामा डिप्लोमा कोर्ष सकेपछि नेपाली फिल्मको स्तरोन्नतिका लागि काम गर्नुपर्छ भन्ने निर्णय लिएँ । त्यही अनुरुप मैले किण्डल सिने स्टुडियोमा रंग संयोजकका रुपमा काम शुरु गरें । थुप्रै टेलिभिजन कमर्शीयल र म्युजिक भिडियोहरुमा रंग संयोजन गरें । आफ्नो कामलाई निखार्दै लगें । नेपालमा पहिलोपटक रेड फोरके क्यामराले खिचिएको फिल्म ‘काठमाण्डू’मा रंग संयोजन गरें । यो फिल्ममा मेरो कामलाई सबैले मनपराइ दिनुभयो । यही फिल्म हेरेर रंग संयोजनको मार्फत फिल्मको गुणस्तर राम्रो बनाउन सकिने रहेछ भन्ने विश्वास सबैमा जाग्यो । नेपाली फिल्महरुमा रंग संयोजन गर्नुपर्छ भन्ने सुरुवात भयो । यसपछि नेपाली फिल्ममा रंग संयोजनको यात्रा शुरु गरियो ।
रंग संयोजन कतिको चुनौतीपूर्ण छ ?
पक्कै पनि चुनौतीपूर्ण काम हो । फिल्ममा रंग संयोजनको एकदमै ठूलो भूमिका हुन्छ । फिल्मको कथावस्तुलाई न्याय पुग्ने गरी रंग संयोजन गर्न सक्नुपर्छ । कथाको विषयबस्तु बुझ्न सक्नुपर्छ ।
रंग संयोजनमा पोख्त हुनुहुन्छ । यस विषयमा आफूले अन्यलाई सिकाउनुभएको छ कि छैन ?
अहिलेको डिजिटल युगमा धेरै युवाहरु रंग संयोजन सिक्न चाहिरहेका छन् । मसँग सम्पर्कमा आएका युवाहरुलाई यो विषयमा व्यक्तिगतरुपमा तालिम दिइरहेको छु । भविष्यमा रंग संयोजन सम्बन्धी पढाउने इनिष्टिच्यूट खोल्ने योजना छ ।
आफ्नो कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
एकदमै सन्तुष्ट छु । म सानैदेखि सिर्जनात्मक काम गर्न रुचाउने मान्छे भएकाले मलाई फरक काम गर्ने चाहना थियो । बाल्यकालदेखिको पेन्सिल स्केच कलाले फिल्मको रंग संयोजनमा डोहो¥याउन महत्वपूर्ण भूमिका खेल्यो । यो विधामा काम गर्दा आर्थिक र व्यावसायिक दुवै किसिमले सन्तुष्ट छु । मेरो काममा एकदमै वाहवाही पाएको छु र आफूलाई पुग्दो पैसा पनि कमाएको छु । मैले दिएको योगदानका कारण फिल्मको गुणस्तर वृद्धि भएकोमा एकदमै खुशी छु ।
फिल्मकर्मीले रंग संयोजनबारे कत्तिको बुझेका छन् ?
नेपालमा डिजिटल प्रविधि भित्रिनु अघि सेलुलोइड क्यामराबाट फिल्म खिच्ने चलन थियो । पहिले यो बारेमा बुझाई निकै कम थियो । तर, डिजिटल प्रविधि भित्रिएसँगै रंग संयोजनको महत्वको बारेमा बुझाई बढेको छ । पर्दा र प्रविधिको गुणस्तरमा ध्यान दिइयो । त्यहीकारण फिल्म हेर्नलायक बनाउनुपर्छ भन्नेमा फिल्मकर्मीको ध्यान गयो । फिल्म ‘काठमाण्डू’बाट रंग संयोजनको काम शुरु गरेपछि फिल्मकर्मीले रंग संयोजनको महत्व बुझ्दै गए । पहिले कम चासो राख्ने फिल्मकर्मीको पहिलो प्राथमिकता नै अहिले फिल्मको रंग संयोजनमा जान थालेको छ ।
आफ्नो कामबाट अवार्ड र सम्मान पनि पाउनुभएको होला नि ?
अवश्य पाएको छु । थुप्रै फिल्म सम्बन्धी प्रतिस्पर्धाहरुमा निर्णायक भई काम गरेको छु । फिल्मको रंग संयोजन विधाबाट धेरै अवार्ड पनि जितेको छु । फिल्म सम्बन्धी सम्मानको संख्या पनि उल्लेख्य छ । फिल्मसँग सम्बन्धित संस्थाहरुमा पनि आवद्ध छु ।
पारिवारिक समर्थन कस्तो पाउनुभएको छ ?
मेरो कामबाट परिवार खुशी हुनुहुन्छ । जोकोही अभिभावक छोराछोरीको प्रगति हेर्न चाहन्छन् । मेरो प्रगतिबाट अभिभावक तथा परिवारका सदस्यहरु खुशी हुनुहुन्छ ।
हाल कुन कुन फिल्महरुमा काम गरिरहनुभएको छ ?
अहिले म ‘तिम्रो मेरो साथ’, ‘पासो’, ‘कृष्णलीला’, ‘मनसँग मन’, ‘मन्जिल’, ‘सम्हालिन्छ कहिले मन’ जस्ता नेपाली फिल्म र बलिउडका ‘जय शम्भु’, ‘प्रेमगीत २’मा व्यस्त छु ।
भावी योजना के छ ?
म लामो समयदेखि रंग संयोजन विधामा सक्रिय छु । म आफ्नो अनुभवलाई नयाँ पुस्तामाझ बाँड्न चाहन्छु । पछिल्लो समय फिल्म अध्ययन गर्ने पुस्ताको संख्या उल्लेख्य छ । ती पुस्तालाई रंग संयोजनको विषयमा पढाउन चाहन्छु । त्यसका लागि रंग संयोजन सम्बन्धी इनिष्टिच्यूट खोल्ने योजनामा छु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies