२०८३ कार्तिक २१ गते शनिवार / Nov 07 , 2026 , Saturday
२०८३ कार्तिक २१ गते शनिवार

सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

Nada
२०८२ असार ३२ गते ०८:२८
Shares
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

पाँचथर : एक दशकअघि तमोर कोरिडोरको ट्र्याक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो । जसको असर खेतीमा पर्‍यो । 

तमोर कोरिडोरअन्तर्गत अन्यत्र कालोपत्रे भइरहँदा यहाँ भने बर्सेनि ट्र्याक खोल्ने र अलपत्र छाड्ने काम भइरहेको छ । बर्सेनि सडकको ट्र्याक खोल्दा शिवादोभानलाई सिञ्चित गर्ने टारी कुलो सिँचाइ योजनामा क्षति पुग्दै आएको छ ।

सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बर्सेनि ट्र्याक खोल्ने, सतह मिलाउनेलगायत काममा माटो कटान गरी फाल्ने गरेको छ । यसको असर सिँचाइ आयोजनामा परेको छ । स्थानीय पूर्णबहादुर सम्बाहाम्फेका अनुसार सिँचाइ योजना मर्मतको प्रयास भए पनि पूर्ण रुपमा हुन सकेको छैन ।

“डेढ किलोमिटर लम्बाइको कुलो शिवादोभानका एक दर्जनभन्दा बढी परिवारका लागि खेतीको आधार थियो, यसबिचमा आयोजना मर्मतका लागि सरकारले रु १५ लाख र  निर्माण कम्पनीले रु दुई लाख दिएका थिए, त्यसबाट पक्की कुलो बनाइएको थियो,” उनले भने, “तर बर्सेनि ट्र्याक खोल्दा माटोले कुलो पुरिने गरेको छ, यसको दीर्घकालीन समाधान हुन सकेको छैन ।”

फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकाको सीमा क्षेत्र पर्ने शिवादोभानको फाँटमा सिंचाइको सुविधा हुँदा अहिले खेतीपाती हुन छाडेको स्थानीय ललितबहादुर सम्बाहाम्फेको भनाइ छ । “कुनै समय वर्षमा तीन बालीसम्म लगाइन्थ्यो, कुलोमा क्षति पुगेपछि मकै मात्रै लगाउँदै आएका थियौँ, अहिले त्यो पनि कम भएको छ ।”

सिँचाइको अभावमा खेतीयोग्य जमिन बाँझिदै जाँदा स्थानीयको आयआर्जनको स्रोत पनि बन्द भएको उनको भनाइ छ । सम्बाहाम्फेका अनुसार अहिले उत्पादन हुन छाडेपछि दाउरा र पानीबाहेक सबै किनेर खानुपर्ने अवस्था छ । उनका अनुसार सिँचाइको अभावमा शिवादोभानमा पर्ने फिदिम नगरपालिका -४ सरखण्डे, फिदिम–९ लुम्फाबुङ र कुम्मायक–४ रानीगाउँका खोला आसपासका खेत बाँझिएका छन् । 

कुम्मायक गाउँपालिका–४ का वडाध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फेले निर्माण कम्पनीले समयमै काम नगर्दा समस्या भएको बताउनुहुन्छ । सिँचाइ कुलो मर्मतका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा कुम्मायक गाउँपालिकाले रु दुई लाख ५० हजार विनियोजन गरेको थियो । यद्यपि काम भने नभएको उहाँको भनाइ छ । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर