चलचित्र निर्माण, अभिनय र निर्देशनमा आफूलाई संलग्न गराउँदै आएकी छन् अभिनेत्री सुभेच्छा थापाले । कुनै समय ‘बोल्ड नायिका’को रुपमा चर्चामा रहेकी शुभेच्छा नाम र दामका लागि आफू सफल भएको बताउँछिन् । चलचित्र ‘लक्ष्मी रानी’बाट निर्देशनमा डेब्यू गरेकी उनले नेपाली चलचित्र क्षेत्रमा झण्डै दुई दशक बिताइसकेकी छन् । उनले कलाकारिताको सुरुवात रंगमञ्चबाट शुरु गरेकी हुन् । बद्री अधिकारीको टेलिशृंखला ‘सहयात्री’बाट उनको औपचारिक कलाकारिता शुरु भएको हो भने नायिकाको भुूमिकामा अभिनय गरेको पहिलो चलचित्र ‘ध्रुव’ हो । त्यस्तै उनले लेखनमा पनि आफूलाई संलग्न गराउँदै आएकी छन् । सबै विधातर्फ संलग्न रहेकी उनी बहुप्रतिभाकी धनी रहेकी छन् । शुभेच्छाले आधा दर्जन चलचित्र निर्माण गरेकी छन् भने दर्जनौं चलचित्रमा अभिनय गरेकी छन् । उनी सबैको रोजाइमा पर्न सफल अभिनेत्री हुन् भने महँगो परिश्रमिक पनि लिने गर्छिन् । यतिबेला नयाँ चलचित्रका लागि तयारीमा रहेकी उनी कोरोना संक्रमणका कारण केही ढिला भएको बताउँछिन् । उनै नेपाली चलचित्रकी लोकप्रिय नायिका शुभेच्छासँग मध्यान्न दैनिकका लागि प्रतिक्षा गौतमले गरेको कुराकानी :
अहिले के गर्दै हुनुहुन्छ ?
तपाईं हामी सबै यतिबेला कोरोना संक्रमणका कारण आफूलाई सुरक्षित राख्दै काम गर्नु पर्ने अवस्थामा छौं । म पनि सुरक्षाका मापदण्डलाई ख्याल गर्दै केही म्युजिक भिडियोमा अभिनय गरिरहेकी छु । केही सिरियलमा पनि काम गरिरहेको छु । यस्तै हरेक हप्ताको शनिबार आउने पारिवारिक सिरियल ‘कुल खानदान’मा पनि अभिनय गरिरहेकी छु । यसको राम्रो प्रतिक्रिया आइरहेको छ । यतिबेला यसको ८८ भाग दर्शकमाझ आइसकेको छ । म निरन्तर छु यसमा । यस्तै कोरोना कहरबीच मैले आफ्नो चलचित्र ‘लक्ष्मी रानी’ युट्युबमा सार्वजनिक गरें । अहिले नयाँ प्रोजेक्टको तयारी गर्दैछु । त्यसको काम भइरहेको छ । तर, यो कोरोना संक्रमणका कारण फ्लोरमा जान भने सकेको छैन । कोरोना संक्रमण नियन्त्रणका लागि एक मात्र उपाय भनेको यसका विरुद्ध लगाइएको खोप नै हो । यति बेला खोप लगाउने कार्य भइरहेको छ आशा छ छिट्टै नै सहज वातावरण हुने छौं र हामी फेरि छिट्टै नै ठूलो पर्दाको ‘एक्सन कट’मा सहभागी हुने छौ । यस्तै यो बीचमा मैले केही समाजिक कार्यमा पनि आफूलाई ब्यस्त बनाउँदै आइरहेकी छु ।
नेपाली कला क्षेत्रमा यहाँको प्रवेश कसरी भयो, किन आउनुभयो यो क्षेत्रमा ?
म कला क्षेत्र भनेपछि सानैदेखि नै हुरुक्क हुन्थें । यसमा सानैदेखि लागेकी हुँ म । मेरो आमा गीत संगीत र चलचित्रलाई असाध्यै माया गर्नुहुन्थ्यो । मेरो आमाको प्रेरणाले नै म यो क्षेत्रमा आएँ ।
रंगमञ्चबाट कलाकारिताको यात्रा सुरुवात गर्नुभयो होइन ?
हो, मैले मेरो कलाकारिताको सुरुवात रंगमञ्चबाट शुरु गरेकी हुँ । बद्री अधिकारीको टेलिशृंखला ‘सहयात्री’बाट मेरो औपचारिक कलाकारिता शुरु भएको हो । मैले नायिकाको भूमिकामा अभिनय गरेको पहिलो चलचित्र ‘ध्रुव’ हो ।
यहाँले अभिनयसँगसँगै चलचित्र निर्माणमा पनि हात हाल्नुभयो, निर्देशनमा पनि हुनुहुन्छ होइन ?
मलाई के लाग्छ यी सबै यही क्षेत्रका विभिन्न पाटा हुन् । म यही क्षेत्रमा छु । यो क्षेत्रबाट अलग भएकी होइन । यो सबै एक अर्कासँग सम्बिन्धित काम नै हुन् । आफूले जानेको, आफूले बुझेको कुरा किन दर्शकमाझ न पस्किने भनेर हात हालेकी हुँ । मैले ६ वटा फिल्म निर्माण गरेँ, त्यसपछि निर्देशन गर्न थालेकी हुँ । अभिनय र निर्माण गर्दै जाँदा निर्देशन पनि गर्न सक्छु भनेर थालेकी हुँ ।
तपाईंको बोल्ड अभिनयले वाहीवाही बटुल्न सफल थियो भने निर्देशनमा दर्शकको कस्तो प्रतिक्रिया पाउनुभयो ?
म यो क्षेत्रमा बोल्ड नायिकाको रुपमा परिचित रहें । सबैको तारिफले ममा अझ आत्मविश्वास बढ्दै गयो । मैले निर्माण गरेका चलचित्रमा प्रायः सोसियल विषय रहेका छन् । मैले निर्देशन गरेको चलचित्र ‘लक्ष्मी रानी’ पनि सोसियल चलचित्र नै हो । दर्शक र समाजबाट पनि राम्रै प्रतिक्रिया पाएँ, पाइरहेकी छु । यो चलचित्र ‘लक्ष्मी रानी’बाट पाएको माया, सकरात्मक प्रतिक्रिया, उत्साहले नै अर्को चलचित्र निर्देशन गर्न लागेकी छु ।
थुप्रै चलचित्रमा अभिनय गर्नुभयो, लेखन कार्यतिर लाग्नुभएको छ भने चलचित्र निर्देशन पनि गर्नुभयो, निर्देशन गर्ने सोच कसरी आयो ?
लामो समयसम्म यो क्षेत्रमा रहेकी म आफैँ अझ राम्रो निर्देशन किन नगर्ने भनेरे लागें । तपाईंले भने जस्तै चलचित्र लेखनमा पनि आफूलाई संलग्न गराएकी छु ।
धेरै विधातर्फ संलग्न हुनुहुन्छ, सबै विधातर्फ हात हाल्दा कसरी सम्भव हुन्छ ?
मलाई के लाग्छ भने सबैभन्दा ठूलो कुरा मानिसको इच्छा रहेछ । इच्छा र आफूमा खुवी भएमा धेरै कुरा सम्भव हुन्छ । फेरि एउटै कामका विविध पाटा हुन यी सबै । हामीले साढे दुई घण्टादेखि तीन घण्टा पर्दामा जुन दृश्य देख्छौं त्यो निर्माण गर्नु आफैँमा गाह्रो हो । मैले आफूले निर्देशन गरेको चलचित्रमा अभिनय गरेको छैन । चलचित्रमा निर्देशनको ठूलो जिम्मेवारी हुन्छ । मैले नयाँ कलाकारहरुलाई अवसर दिने गरेकी छु ।
कतिको गाह्रो रहेछ यो ‘एक्सन कट’, कति जनालाई अवसर दिनुभयो अहिलेसम्म आउँदा ?
आफ्नो काम हो, त्यस्तो गाह्रो लाग्दैन मलाई । आफ्नो पेशा हो, काम हो, पूजा हो । शुरुका दिनहरुमा अलिक अप्ठायारो लाग्थ्यो तर काम गर्दै जाँदा सिकिन्छ, सिक्दै जाने कुरा हो । धेरै हुनुहुन्छ । दुर्गेश थापालाई मैले नै चलचित्र ‘मखमली’बाट हिरोमा डेब्यू गराएकी हुँ ।
तपाईं आफैँलाई म सफल अभिनेत्री हो भन्ने लाग्छ ?
सफलता, असफलता केलाई भन्ने ? मैले अभिनय गरेका चलचित्रले राम्रै सफलता प्राप्त गर्दा निश्चय नै म सफल अभिनेत्री हुँ भन्ने लाग्छ । जसरी मैले अभिनय गरेका चलचित्र मार्फत दर्शकले मलाई बोल्ड अभिनेत्रीको रुपमा चिन्नुभयो, मेरो चर्चा भयो त्यो नै मेरो सफलता होइन र ? मैले दर्शकबाट अपार साथ, माया र हौसला पाएकी छु । यसले मलाई एक खालको सन्तुष्टि दिएको छ । मेरा चलचित्रले सफलता प्राप्त गर्दै गर्दा विभिन्न अवार्ड र सम्मानहरू पाएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies