रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिका–११ स्थित हिमालीवास माविबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीलाई विशेष कार्यक्रम गरी सम्मान गरिएको छ ।
विद्यालयबाट २०८१ सालको एसईईमा सहभागी ४६ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन् । शतप्रतिशत नतिजा प्राप्त भएपछि विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूलाई प्रमाणपत्र र फूलमालासहित सम्मान गरिएको हो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहलाद भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बुनिलाल यादव, शिक्षक अभिभावक संघका प्रतिनिधिहरू तथा विभिन्न शिक्षकमण्डलीको उपस्थिति रहेको थियो ।
प्रधानाध्यापक यादवले हिमालीवास माविले हासिल गरेको शतप्रतिशत सफलतालाई समग्र नगरपालिकाकै गौरवको विषय भएको बताए । उनले विद्यार्थीहरूलाई अनुशासनमा रही निरन्तर मेहनत गर्न सुझाव दिँदै विद्यालय, शिक्षक, व्यवस्थापन समिति र अभिभावकहरूको सामूहिक प्रयासकै कारण यस्तो सफलता सम्भव भएको स्पष्ट पारे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुजेलले विद्यार्थीहरूको हितका लागि आफूहरू सधैँ प्रतिबद्ध रहेको जनाउँदै, यसपटकको सफलताले विद्यालयको शैक्षिक प्रतिवद्धता बलियो बनाएको बताए । उनले विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई सफलताका लागि धन्यवाद दिए । शिक्षक मदन मोहन यादवले सञ्चालन गरेको कार्यक्रममा शिक्षक, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूले उत्तीर्ण विद्यार्थीहरूलाई शुभकामना दिएका थिए ।