– हुमन तिवारी
सामाजिक चिन्तन र सांस्कृतिक रुपान्तरणको विषय सहज छैन । समय, घटनाक्रम र सामाजिक अभियानसँगै क्रमिक सुधार हुँदै जाने विषय हुन् । जसरी बालक जन्मेपछी एकैचोटी वयस्क नभइ बिस्तारै बृद्धि र विकास हुने क्रम रहन्छ त्यसरी नै मानवीय चिन्तन र सांस्कृतिक रुपान्तरण समयसँगै परिवर्तन हुँदै जाने हुन्छ । जसको लागि उचित अभियान र सकारात्मक जागरणको आवश्यकता पर्दछ । धनी र गरिब, ठूलो र सानो, टाढा र नजिक जस्ता विषयहरु भौतिक हुन सक्दछन् जसलाई भौतिकवादी दर्शन र आक्रामक अभियानको मद्दतले छोटो समयमै परिवर्तन गर्न सम्भव देखिन्छ । तर सामाजिक चिन्तन र सांस्कृतिक रुपान्तरण परिवर्तनको लागि लामो समयको नियमित र सकारात्मक अभियानको जरुरत पर्दछ ।
हाम्रो समाजको जातीय विभेदलाई सामाजिक र सांस्कृतिक समस्याको रुपमा औल्याइदै आएको छ । हामीले यो समस्या भौतिकवादी साेंचकै तवरले छिनभरमै समाधान गर्ने प्रयत्न गर्दछौ र जागरणको नाममा नकारात्मक अभियान जबरजस्ती चलाउन खोज्दै छौ । हिन्दु धर्मले जातीय विभेद गर्यो भन्ने नाममा हिन्दु धर्ममाथि नै प्रहार गर्ने, बाहुन/क्षेत्री समुदायले विभेद गर्यो भन्ने नाममा सम्बन्धित समुदायप्रति नै आक्रमण गर्ने प्रवृत्ति देखिँदै छ । जुन बिल्कुलै गलत, अवैज्ञानिक र नकारात्मक अभियान हो ।
कुनैपनी धर्म समुदाय र जातीय पहिचानको उच्च सम्मान गरि सकारात्मक जागरणबाट नै हाम्रो समाजमा देखा परेका सामाजिक र सांस्कृतिक खासगरी जातिय समस्या समाधान गर्न सकिन्छ । समाजले ठूलो जात भनेको समुदायमा सकारात्मक अभियानले मानव जाती एक हो, जनावर लाई छुवाछूत गर्दैनौ भने मानवलाई किन अछुत भन्ने ? जस्ता कयौँ प्रश्न खासगरी युवा जमातमा उब्जिएको परिस्थिती छ । मलाई त फरक पर्दैन समाजले के भन्छ भन्ने सोंचमा बदलिइसकेको मनस्थितिलाई थप सकारात्मक जागरणले रुढीबादी समाजलाई नै परिवर्तन गर्न सक्दछ । तर, विभेद गरेको नाउँमा धर्म र जातिमाथि आक्रमण गर्दै जाँदा शोषक भनिएको वर्गमाथी पुरानै शैली र नकारात्मक प्रवृत्तिसहितको एकता बढ्दै जान्छ र फरक जातीबिचको द्वन्द्व हाम्रो समाजमा अनन्त कालसम्म रहिरहन्छ ।
अतः समाजलाई समृद्व, समुन्नत र विभेद रहित बनाउनको लागि सकारात्मक अभियानको जरुरी छ । जातीय विभेद अन्त्यको निम्ति दलित मोर्चा होइन बृहत मोर्चाको आवश्यकता छ । जहाँ समुन्नत समाजको सोंच राख्ने सबै जात र समुदायको प्रतिनिधित्व रहनु पर्दछ । सामाजिक चिन्नत र सांस्कृतिक रुपान्तरणको लागि कुनै एक वर्ग वा समाजले मात्रै पहल गरेर हुँदैन । यसमा सबैको समान सहभागिता र भूमिका रहनुुपर्दछ । जबसम्म सबै वर्ग, जाती, लिङ्ग र धर्मका मान्छेहरु समान हिसाबले सहभागिता हुँदैन तबसम्म यो अभियानलाई निर्मुल पार्न सकिँदैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies