– लोकनारायण सुवेदी
नेपालको समकालीन राजनीतिमा पुष्पलालको दृष्टिकोण, निष्ठा र समर्पण नेपाली जनताको मुक्ति र समुन्नतिका निमित्त केन्द्रित रहेको प्रष्टै देखिन्छ । उहाँले ग्रहण गरेको मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा आजका चालु नेताहरुको जस्तो सस्तो नेतागिरी छाँट्न, निक्कै जानेको छु भन्ने आडम्बर देखाउन र पण्डित्याई प्रदर्शन गर्नका निमित्त पटक्कै थिएन । बरु नेपाली समाजको अग्रगामी आमूल सामाजिक परिवर्तनका निमित्त थियो भन्ने कुरा उहाँको अथक संघर्षले देखाउँदछ । सिद्धान्त सिद्धान्तको निमित्त होइन, यसलाई जनता र राष्ट्रको जीवनमा परिवर्तन ल्याउने शक्तिशाली हतियारको रुपमा रुपमा पुष्पलालले ग्रहण गर्नुभएको थियो र तदनुकूल आफ्नो राजनीतिक यात्रालाई अविश्रान्त अघि बढाउनु भएको थियो ।
वास्तवमा पुष्पलालले संयुक्त जनआन्दोलनको जुन नीति अख्तियार गर्नु भएको थियो, त्यो आफुले अंगीकार गरेको मार्क्सवादी लेनिनवादी सिद्धान्तलाई व्यवहारमा उतार्ने, जनतालाई जगाउने र परिवर्तनको बाटोमा अग्रसर गराउने एउटा अमोघ अस्त्र थियो र हो । त्यो नीतिको आधार तत्कालीन वस्तुस्थितिको आधारमा वर्गीय विश्लेषणको निचोड नै थियो ।
त्यसैले उहाँले अघि सारेको संयुक्त जनआन्दोलनको नीति केवल एउटा कोरा नीति मात्र थिएन, त्यो परिवर्तनको प्रभावकारी औजार थियो । जसले समाजमा राजनीतिक, आर्थिक, समाजिक र सांस्कृतिक परिवर्तन ल्याउन सबै परिवर्तनकामी शक्तिहरुलाई एक ठाउँमा खडा गर्ने रसायनको काम गर्दथ्यो । वस्तुतः उहाँले अघि सारेको यो नीति मार्क्सवाद, लेनिनवाद र माओ विचारधारालाई व्यवहारमा उतार्ने कार्यनीतिकै महत्वपूर्ण अंश र आधार थियो । जुन बाटो नहिँडीकन समाजलाई अग्र गति दिनै सकिदैनथ्यो भन्ने कुरा नेपालमा अहिलेसम्म सचेतरुपमा चलेका संयुक्त जनआन्दोलनहरुले प्रष्टसँग औंल्याएका छन् । यस प्रकार पुष्पलालको यो नीति एकैचोटी वर्गीय मोर्चा र राजनीतिक मोर्चालाई एकै दिशातिर अभिमुख गराउने र हिडाउने माध्यम पनि थियो । जुन कुराको पुष्टी नेपालको २०१७ अघि ०८ सालतिर जातिय जनतान्त्रिक मोर्चा (त्यसबेला ‘राष्ट्रिय’ शब्दलाई ‘जातिय’ भनेर अभिव्यक्त गन्थ्यिो) र ०१७ पछिका महत्वपूर्ण र ऐतिहासिक आन्दोलनहरु –२०३६ सालको संयुक्त विद्यार्थी आन्दोलन, २०४६ सालमो संयुक्त जनआन्दोलन र २०६२/६३ सालको व्यापक संयुक्त जनआन्दोलनहरुले एकपछि अर्को पुनर्पुष्टी गरिसकेका छन् र गरिरहेका छन् ।
वास्तवमा यस वस्तुगत यथार्थले कमरेड पुष्पलालको ‘नेता होइन, नीति प्रधान’ हुन्छ भन्ने कुरालाई पनि सत्य साबित गरेको छ । उहाँ व्यक्तिवादको विरुद्ध हुनुहुन्थ्यो र हमेशा पुष्पलाल भन्ने गर्नुहुन्थ्यो कि नेताहरु त मञ्चमा आउछन्, जान्छन् तर सही नीति हमेशा कायम रहन्छ । उहाँले यस्तो निचोड निकालेर नीतिको कुरा गर्दा वर्गीय नीतिको कुरा गरेको हुन्थ्यो कुनै निरपेक्ष नीतिको कुरा होइन । उदाहरण दिदै उहा भन्ने गर्नुहुन्थ्यो – बेद ब्यास छैनन् तर बेद छ । बुद्ध छैनन् तर बुद्धको बिचार छ, रुसो छैनन् तर उनको ‘सामाजिक सम्झौताको सिद्धान्त’ छ । त्यसरी नै मार्क्सवादका प्रणेता– मार्क्स र एंगेल्स छैनन् तर अजेय मार्क्सवाद आज हामीसँग छ । नेताहरुको योगदान र भूमिकाको अवश्य महत्व छ र हुन्छ । उनीहरु हमेशा कायम रहन सक्तैनन् तर उनीहरुको बिचार कायम रहन्छ ।
पुष्पलालको एक मात्र ध्याउन्न देश र जनताको हितमा सही नीति प्रतिपादन गर्नु र त्यसलाई व्यवहारमा खरो उतार्नु रहेको थियो । यसैका लागि नेपाली जन आन्दोलनका सबल र दुर्बल पक्ष केलाउन र सहीलाई अझ सम्बृद्ध तुल्याउन तथा गलतलाई घटाउन र हटाउन उहाले ‘नेपाली जन आन्दोलन ः एक समीक्षा’ लेख्नुभयो ।
त्यस क्रममा उहाँले नेपालको सन्दर्भमा राष्ट्रियता र जनवादको नविन परिभाषा दिँदै ‘लाखाँैलाख झोपडीहरुको एकता नेपालको सन्दर्भमा राष्ट्रियता हो भने ती झोपडीहरुको हक हित जनवाद’ हो भन्ने कुरा प्रष्टसँग औंल्याउनु भयो । यो नेपाललाई सचेत र उन्नत किसिमले राजनीतिक एकीकरण गर्ने र सुदृढ बनाउने कुरा हो र थियो भन्ने प्रष्टसँग बुझ्न सकिन्छ । यो कुराले नेपाली जनता नै वास्तविक परिवर्तनका संवाहक हुन् र उनीहरुको सक्रिय भूमिका बिना आमूल सामाजिक परिवर्तनको कुनै अर्थ छैन र हँुदैन भन्ने अर्थपूर्ण शिक्षा पनि दिन्छ । त्यसैले, पुष्पलालले जनचेतना निर्माणलाई ठूलो महत्व दिनुभयो र जनताका दैनिक जीवनका सवाललाई लिएर तलैदेखि उठेको आन्दोलनमा जोड दिनुभयो । त्यसले कुरालेभन्दा कामले जनतालाई बढी चाडो र सही किसिमले सचेत र सक्रिय तुल्याउँदछ भन्ने कुरामा उहाँ बढी विश्वस्त हुनुुहुन्थ्यो ।
पुष्पलाल केवल एउटा सिद्धान्तवादी निष्ठावान व्यक्तित्व मात्र हुनु हुन्थेन, उहाँ त सिद्धान्तलाई व्यवहारमा खरो उतार्ने र त्यस आधारमा संगठनलाई क्रियाशील र सबल बनाउने कार्यमा निरन्तर दत्तचित्त भएर लाग्ने व्यक्तित्व हुुनुुहुन्थ्यो । त्यसैले उहाँले ‘तीन ‘स’ को सिद्धान्त’ अर्थात् ‘संघर्ष, संगठन र सिद्धान्त’लाई एक अर्काका परिपुरकका रुपमा निरन्तर क्रियाशील तुल्यारहनु भयो । उहाँ हमेशा पार्टी क्लासहरुमा भन्ने गर्नु हुन्थ्यो कि सिद्धान्तबिनाको संगठन र संघर्ष अन्धो हुन्छ र सगठनबिनाको सिद्धान्त र संघर्ष पनि लङ्गडो हुन्छ । त्यसैगरी सिद्धान्त र संगठन बिना त संघर्षले सही दिशा र गति नै पाउनै सक्तैन । त्यसैले यी तीन ‘स’ को आ–आफ्नै ठूलो महत्व छ र ती एक अर्काका परिपुरक हुन् । एक बिना अर्कोको अस्तित्वको कुनै अर्थ हुदैन भन्ने उहाँको एकदमै प्रष्ट धारणा थियो ।
सिद्धान्तको कुरा गरिरहँदा पुष्पलालले मार्क्सवाद–लेनिनवाद र माओ विचारधारालाई एउटा जडसुत्रवादी रटना जपनाको रुपमा नलिएर त्यो सैद्धान्तिक विचारधारालाई एउटा गतिशील र मार्गदर्शन गर्ने प्रकाश स्तम्भको रुपमा बुझाउनु भयो र व्यवहारलाई अर्थात् परिवर्तनलाई बाटो देखाउने औजारको रुपमा बुझ्नु र बुझाउनु भयो । विचारधारात्मक संघर्षको कुरा गर्दा उहाँ हरहमेशा ‘वादे वादे, विवादे च जायते तत्व बोध’ भन्ने संस्कृत वाक्यलाई दोहो¥याउने गर्नु हुन्थ्यो र कुनै पनि विषयमा तर्क–प्रतितर्कले नै सही निष्कर्षमा पुग्न मद्दत पुग्ने द्वन्दात्मक नियम प्रयुक्त गर्नुहुन्थ्यो । प्रकृति र समाजका अधिशासित नियमको बारम्बार उहाँले उल्लेख गर्ने गर्नुहुन्थ्यो ।
पुष्पलालको एउटा अर्को सबैभन्दा महत्वपूर्ण पक्ष उहाँको निरन्तर अध्ययनशीलता हो । समकालीन नेपाली राजनीतिमा तुलनात्मकरुपमा उहाँको जत्तिको नेपाली समाजको गहिरो अध्ययन अरु कमैले मात्र गरेका थिए होलान् । उहाँको अध्ययनको मूल बिषय नै नेपाली जनताको गाँस, बास, कपासको समस्या थियो । जनताले आफ्नो आजीवीवको समस्या कसरी हल गरिरहेका छन् र उनीहरु बिकासको कुन चरणबाट गुज्रिरहेका छन् भन्ने कुरामै उहाँको सम्पूर्ण राजनीतिक अध्ययन केन्द्रित थियो र हुन्थ्यो ।
मार्क्सवाद लेनिनवाद र माओ विचारधारालाई नेपाली धरातलीय यथार्थका आधारमा प्रयुक्त गर्न के–कसरी सकिन्छ यही नै उहाँको अध्ययनको मूल विषय हुन्थ्यो र विद्यमान यथास्थितिलाई फेरेर समाजलाई अग्रगति प्रदान गर्ने दिशाबोध गर्नु उहाँको अध्ययनको प्रयोजन थियो । त्यसैले अलिकति समय पायो कि उहाँ कहिले कलकत्ताको ‘नेशनल लाइब्रेरी’ मा गम्भीर अध्ययनमा लागेको पाइनु हुन्थ्यो कि दिल्लीको ‘सप्रु हाउस’ या बनासरकै स्थानीय पुस्तकालय जहाँ विश्व र नेपालका लागि पनि पठनीय पुस्तक र पाठ्य सामाग्री पाइने गर्दथे । समय पायो कि उहाँ अध्ययनरत रहने गर्नुहुन्थ्यो । उहाले नेपालमा पनि कार्यकर्ताहरुलाई मदन स्मारक पुस्तकालय पाटनढोका र राष्ट्रिय पुस्तकालय तथा बिश्वबिद्यालयका पुस्तकालयहरुमा गएर अध्ययन गर्न सुझाव दिनुहुन्थ्यो । जसले नेपालको इतिहास, सस्कृति र भूगोल पढेको र बुझेको हुदैन, नेपाली जनताको आजिबीका कसरी चलेको छ त्यसको गहिरो अध्ययन गरेको हुँदैन उसले नेपालको आमूल अर्थ–राजनीतिक परिवर्तनमा कसरी योगदान दिन सक्तछ र ? भन्ने गम्भीर प्रश्न उठाउँदै सबै कार्यकर्ताहरुलाई अध्ययन गर्न प्रेरित गर्नु हुन्थ्यो । खासगरी उहाले नेपालमा किसान वर्गको समस्या हल नगरी नेपालको राष्ट्रिय मूख्य मुद्दा नै हल हँुदैन भन्ने कुरामा जोड दिएर जगदीश चन्द्र रेग्मीले अग्रेजीमा लेखेका किताबहरु ‘ल्याण्ड टेन्यूर एण्ठ ट्याक्सेशन सिस्टम इन नेपाल’ अर्थात ‘नेपालमा भूमि र कर व्यवस्था’ लगायतका महत्वपूर्ण सन्दर्भ सामाग्रीहरू अध्ययन गर्न र विचार बनाउन विशेष जोड दिनुहुन्थ्यो ।
समग्रमा पुष्पलालको क्रान्तिकारी जीवन सबैका लागि एउटा प्रेरणास्पद र विश्वासिलो जीवन त छँदैथियो नै त्योभन्दा बढी आमूल सामाजिक परिवर्तनको दिशामा अत्यन्तै हुटहुटिएर केन्द्रित भएको र त्यस प्रयोजनका लागि आजीवन सक्रिय रहेको अनुकरणीय प्रेरणापुञ्ज बनेको जीवन थियो । त्यसैले नै उहाँका अनुयायीले भन्दा पनि आज उहाँको छिचरो र अनर्गल किसिमले बिरोध गर्ने तथाकथित कम्युनिष्ट नामधारीहरुले नै उनको मूर्ति र फोटो पूजाआज गरेर आफुलाई पुष्पलालको असली उत्तराधिकारी भएको भ्रम छर्ने गरेका छन् । त्यो हिजो पनि स्वार्थवश गरिएको बिरोध र प्रताडना थियो भनेको आजको पूजा पनि स्वार्थवश गरिएको यथार्थ खुलस्त भइसकेको र भइरहेको छ । कमरेड पुष्पलालको अविश्रान्त क्रान्तिकारी जीवनको सारतत्वलाई समाप्त पारेर आवरणको पूजाआजा गर्ने अवसरवादीहरुको बिगबिगीलाई नचिरेसम्म नेपालको कम्युनिष्ट आन्दोलनले भ्रमबाट मुक्ति पाउन सक्ने छैन । अनि नेपाली शोषित पीडित जनताले पनि वर्गीय शोषण र सामाजिक उत्पीडनबाट कदापि मुक्ति पाउने छैन । यो आजको कटु यथार्थ कुरा हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies