२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

१२ वटा भन्सार नाकाबाट निर्यात शून्य

Nada
२०८३ कार्तिक ११ गते १६:४७
Shares
१२ वटा भन्सार नाकाबाट निर्यात शून्य

काठमाडौँ : चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो तीन महिनामा मुलुकका २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सारबाट सबैभन्दा धेरै मूल्य बराबरको वस्तु आयात र निर्यात भएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा वीरगञ्ज नाकाबाट मात्रै ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ । त्यसैगरी, यसै नाकाबाट सबैभन्दा धेरै ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको छ ।

वीरगञ्जपछि आयाततर्फ भैरहवा र विराटनगर भन्सार अगाडि छन् । विभागको तथ्यांकअनुसार भैरहवा भन्सारबाट ९८ अर्ब ८१ करोड र विराटनगर भन्सारबाट ७८ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । 

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ अर्ब ६२ करोड र पूर्वी नाका मेची भन्सारबाट २१ अर्ब ४० करोड रुपैयाँ बराबरको आयात भएको छ । उत्तरी नाका रसुवाबाट ७ अर्ब ९१ करोड र तातोपानीबाट १ अर्ब १५ करोड रुपैयाँको आयात भएको देखिन्छ ।

निर्याततर्फ पनि वीरगञ्ज नै अगाडि रहेको छ भने विराटनगर भन्सार दोस्रो स्थानमा छ । वीरगञ्जबाट ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरको र विराटनगर नाका हुँदै २९ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु बिदेसिएको छ । त्यस्तै, हवाई मार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ अर्ब ७१ करोड, भैरहवा भन्सारबाट ११ अर्ब ५१ करोड र मेची भन्सारबाट ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

२८  नाकाबाट आयात भइरहे पनि मुलुकका १२ वटा भन्सार कार्यालयबाट भने स्वदेशी वस्तुको निर्यात शून्य रहेको छ ।

तथ्यांकअनुसार भद्रपुर, जनकपुर, महेशपुर, पोखरा, राजविराज, सती, सिराहा, सुनसरी, सुठौली, तातोपानी, ठाडी र त्रिवेणी भन्सार कार्यालयबाट यो तीन महिनाको अवधिमा एक रुपैयाँको पनि वस्तु निर्यात भएको छैन । 

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट सवा अर्बको आयात हुँदा निर्यात भने पूर्ण रूपमा शून्य देखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर