२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

Nada
२०८२ साउन ३ गते १८:११
Shares
बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

ncell

जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्न सक्ने पूर्वानुमान भएकाले इप्पानले विज्ञप्ति जारी गर्दै जलविद्युत् आयोजनामा पूर्वतयारी स्वरूप सतर्कता अपनाउन आग्रह गरेको हो ।

“इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्व सूचना आदानप्रदान गर्ने सम्झौताअनुसार विभागले यस सम्बन्धमा इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना आदान प्रदान गर्दै आएको छ,” इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विभागले यही साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ ।”

पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काईलगायतका नदीमा बाढी आउन सक्ने सम्भावना अत्यधिक रहेको विभागको भनाइ छ । कोशी नदी सतर्कता तह नजिक वा पार गर्न सक्ने स्थितिमा पुग्न सक्नेछ । पूर्वी नेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ । साउन ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौँ उपत्यका र तल्ला तटीय क्षेत्र प्रभावित हुने र साउन ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटीय क्षेत्रमा बाढी आउन सक्ने सम्भावना उच्च हुने विज्ञप्तिमा भनिएको छ ।

“यसपटकको मौसमी प्रणालीले मध्य नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देहीलगायतका जिल्लामा असर पर्नेछ, जसले नारायणी जलाधारको मध्य पहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ”, विज्ञप्तिमा भनिएको छ ।

साथै पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यम स्तरको प्रभाव पर्ने सम्भावना भएको र महाकाली क्षेत्रमा साउन ४ गते बेलुकादेखि साउन ५ गते मध्यान्हसम्म बढी सतर्कता अपनाउनु आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागलाई उदृत गर्दै इप्पानले जानकारी दिएको छ । 

मौसमसम्बन्धी पूर्वसूचनाहरु लिएर इप्पानमा आवद्धसहित देशभरका सम्पूर्ण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूलाई विपद्बाट हुन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारीका कार्य अघि बढाउन इप्पानले आग्रह गरेको छ ।

गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका आधा दर्जन भन्दा बढी जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएको घटनाका साथै विगतका वर्षहरूमा पनि बाढी पहिरोले जलविद्युत् आयोजना निर्माणमा संग्लग्न धेरै कर्मचारीहरूले ज्यान गुमाउनुका साथै आयोजनामा निकै ठूलो भौतिक क्षति भई वर्षौँसम्म विद्युत् उत्पादन बन्द गर्नुपरेको घटनालाई स्मरण गराउँदै आगामी दिनमा यस्ता घना दोहोरिन नदिन इप्पानले आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर