काठमाडौं : उच्च अदालत पाटनले विश्वहिन्दु महासंघको काठमाडौं महानगरपालिका वडा नम्बर ३ स्थित भवनमा क्षति पुग्ने गरी कुनै काम नगर्न अन्तरिकालिन अन्तरिम आदेश दिएको छ ।
महासंघको भवनलाई क्षति पुग्ने गरी काठमाडौं महानगरपालिकाले डोजर लगाएपछि महासंघ उच्च अदालत पुगेको थियो । उच्च अदालत पाटनका न्यायाधीश वामदेव ज्ञवालीको एकल इजलासले बुधबार अन्तरिकालिन अन्तरिम आदेश दिएको हो ।
उच्च अदालतले काठमाडौं महानगरपालिका वडा नम्बर ३ को साविकको कित्ता नम्बर ३४, ४३, २२ र ५०६ का हालका विभिन्न कित्ता नम्बरमा रहेको विश्वहिन्दु महासंघको भवनमा कुनै पनि क्षति हुनेगरी काम नगर्न काठमाडौं महानगरको नाममा अन्तरिम आदेश दिएको हो ।
इजलासले यस विषयमा अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि दुबै पक्षलाई यही साउन २७ गतेका लागि पेशी तोकेको छ । उच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेशसमेत जारी गर्दै १५ दिन भित्र जवाफ दिन भनेको छ ।
महासंघले आफ्नो स्वीकृति विना वडा नम्बर ३ ले ठेकेदारमार्फत यस्तो वर्षाको समयमा महासंघको पछाडि पट्टिको भिरालो जमिनमा गहिरो गरि खनेको हुनाले भवनमा नै क्षति पुग्ने देखिए भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
काठमाडौं महानगरपालिका वडा न ३ स्थित कित्ता नम्बर ५०६ को नेपाली सेनाको नाममा रहेको जग्गाबाट महासंघको भवन बनाउन नेपाल सरकारको स्वामित्व रहने गरि २०६२ भदौ ३० गते मन्त्रिपरिषद्को निर्णयबाट महासंघलाई भोगाधिकार दिएको थियो । काठमाडौं महानगरले भने सो जमिन आफ्नो स्वामित्वमा ल्याउन डोजर चलाएको महासंघले बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies