काठमाडौं : गोेपाल ढकाल ‘छन्दे’ नेपाली कलाकारिता क्षेत्रको एउटा लोकप्रिय नाम हो । गोपाल लोकप्रिय कलाकार मात्रै होइनन्, हरेकलाई सहयोग गर्न तत्पर भैहाल्ने समाजसेवीका साथै असल व्यक्तित्व समेत हुन् ।
जीवन्त अभिनय गर्ने खुबी भएका कलाकार गोपालको पहिचान हास्यकलाकार नै हो । उनले अभिनय, गायन, लेखन बाहेक थुप्रै म्युजिक भिडियो, विज्ञापन तथा टेलिश्रृंखलाहरु निर्देशन गरिसकेका छन् ।
पश्चिम नेपालको गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लाको भिमादमा पिता स्व. चुडामणी ढकाल र माता टेलुका माया ढकालको गर्भबाट सन् १९८६ फेब्रुअरी १८ मा कलाकार गोपालको जन्म भएको हो । उनी विगत १८ वर्षदेखि नेपाली कलाकारिताको क्षेत्रमा निरन्तर सक्रिय छन् । विद्यालय जीवनदेखि नै अभिनयलाई जीवनको कर्म ठान्दै आएका उनले चर्चित हास्यकलाकार, गायक, अभिनेता, उद्घोषक, निर्देशक एवं लघुकथा लेखकका रुपमा आपm्नो परिचय स्थापित गरेका छन् ।
जीवनलाई सार्थक बनाउनका लागि इमान्दार, मेहेनती र नैतिकवान भएर आफूले रोजेको कर्ममा लाग्नुपर्छ भन्ने गोपाल हजारौँ स्टेज कार्यक्रमदेखि सडक नाटक, टेलीचलचित्र, ठूलो पर्दाका दर्जनौँ नेपाली कथानक चलचित्र लगायत युरोप, युकेका विभिन्न देशहरुमा साथै एसियाका आधा दर्जनभन्दा बढी राष्ट्रहरुमा आफ्नो प्रस्तुति पस्किसकेका प्रतिभा हुन् ।
हास्यकलाकार, हास्यगायक गोपालले भारतीय राजदूतावासको छात्रवृत्तिमा भारतको पुणेमा अवस्थित फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटिआईआई)बाट अभिनयको विशिष्ट कोर्स पूरा गरेका छन् । कलाकारिता र कलाकर्मको दौरानमा बेल्जियम, जर्मनी, फ्रान्स, नेदरल्याण्डस, लग्जेमबर्ग, बेलायत, स्कटल्याण्ड, वेल्स, कतार, दुबई, मलेसिया, थाइल्याण्ड, लाओस जस्ता देशको भ्रमण गरिसकेका उनी एक परिपक्व, रसिक र भर्सटाइल व्यक्तित्व हुन् ।
कला, अभिनय, संगीत, गायन भनेपछि हुरुक्कै हुने गोपाल बाल्यकालदेखि नै अभिनयका पारखी थिए । उनी अनुभवी अभिनय प्रशिक्षक समेत हुन् । विभिन्न एफएम रेडियो, टेलिभिजनमा कार्यक्रम प्रस्तुत गरेर आरजे, भिजेका रुपमा नाम कमाइसकेका उनी चर्चित उद्घोषक समेत हुन् भने एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्टमेन्ट प्रा.लि.का निर्देशक पनि हुन् । उनले विभिन्न टिभी प्रोग्राम, हजारौँ स्टेज कार्यक्रम साथै दर्जनौँ टेलिभिजन च्यानलबाट लाइभ प्रस्तुति समेत दिइसकेका छन् । प्रायजसो निर्माता, निर्देशकको रोजाइमा पर्ने गोपाल प्रतिभावान् र महँगो पारिश्रमिक लिने कलाकारको रुपमा पनि पर्दछन् ।
गोपालले ‘फूलमा माहुरी’, ‘इन्डियामा जागिर खाको छु’, ‘कान्छी सानी छ’, ‘उडायो रेलैले ठाडो कपाल तोरिको तेलैले’, ‘झ्याप्पझ्याप्प लभ’, ‘धोती न टोपी’, ‘कालीगोरी’ लगायतका दर्जनौँ कमेडी गीतमा गायक, गीतकार, संगीतकार र मोडलका रुपमा स्थापित गर्नेे रेकर्ड समेत राखेका छन् । ‘टेन्सन साफ’ हास्य टेलिश्रृंखलाका लेखक तथा निर्देशक उनले ‘बुद्धको पाइला’, ‘हिजोआजका कुरा’, ‘तितो सत्य’, ‘गीतान्जली’, ‘भद्रगोल’, ‘परिचय’, ‘मेरी बास्सै’, ‘बाउन्न घुस्सा त्रिपन्न ठक्कर’, ‘घैँटामा घाम’, ‘ताइ न तुइ पारा उही’, ‘जालझेल’, ‘साहारा’, ‘राजश्री फिल्मी चक्कर’, ‘टेन टु फाइभ’, ‘ट्वाक्क टुक्क रिटन्र्स्’, ‘शेर्पा दाइ’, ‘दुईटी स्वास्नीको पोइ कुना पसी रोई’ जस्ता अनेकौँ टेलिफल्म तथा भिडियो फिल्ममा अभिनयका साथै लेखन निर्देशन समेत गरेका छन् ।
कमर्शियल विज्ञापनको क्षेत्रमा समेत उनको अभिनय अझै रोचक देखिन्छ अर्थात व्यावसायिक धारका प्रतिष्ठित कम्पनीहरुले उनलाई अत्यन्तै विश्वास गरिएको पाइन्छ । बेस्ट टेलिभिजन कमर्शियल अवार्ड प्राप्त गर्न सफल शालिमार सिमेन्टको ब्राण्ड एम्बास्डर रहेका गोपालले शालिमार सिमेन्टका धेरै विज्ञापनहरु, वाइ वाइ ५०—५० चाउचाउ, बोनस चाउचाउ, डन साबुन, इको रुफिङ्ग, अनुपम पेलेट दाना, मनकामना मनि एक्सप्र्रेस, कान्तिपुर मल, भोटाहिटी जुत्ता बजार, हट्के झड्के झालमुडी, ज्योति बजार सपिङ मल लगायत अनेकौँ कमर्शियल टिभिसी विज्ञापनहरुमा आफ्नो व्यावसायिक अभिनय पस्किसकेका छन् ।
नेपाली सिने जगतका चर्चित चलचित्रहरु सावधान, ‘भाइमारा, विष,दाइको ससुराली, दानवीर, देशदेखि विदेश, हात लाग्यो शून्य, इशारा, जंगबाज, जुत्ता खाने बुहारी, खोज, मन परेपछि, नमस्ते, पहिलो पहिलो माया, नमस्ते नेपाल, पर्खीबसेँ, सपनाको नौलो संसार, वडा नं छ ,युद्ध, लभ यु हमेशा, पोइ प¥यो काले आदिमा अभिनय गरेका हास्यकलाकार गोपाल मिलनसार एवं सहयोगी पनि छन् ।
विभिन्न संघ संस्थामा आवद्ध गोपालले कोभिड–१९ महामारीको समयमा असहाय, दुखी, पीडित व्यक्तिहरुलाई राहत वितरण गरी सामाजिक काम पनि गरेका छन् ।
नेपाली, हिन्दी, अंग्रेजी भाषामा पारंगत उनको मूल पहिचान हास्यकलाकार भएपनि उनको चरित्र निर्वाह बहुआयमिक, भर्सटाइल र अत्यन्तै प्रभावशाली पाइन्छ । देश, विदेशका विभिन्न अवार्डहरु, सम्मानहरुबाट सम्मानित उनी बेस्ट कमेडियन आर्टिस्टका रुपमा सुपरिचित छन् । हाल हिमालय टेलिभिजन एच.डीबाट प्रशारण भैरहेको हास्य टेलीचलचित्र डन्ट माइन्ड, टेन्सन साफ सिरियलको प्रमुख कलाकारको रुपमा काम गरिरहेका छन् ।
अनेक कोणबाट हेर्दा उनी साँच्चै बहुमुखी प्रतिभा हुन् । नेपाली कला जगतमा निरन्तर लागिपरेका गोपाल एक उदाहरणीय व्यक्तित्व हुन् । भर्खरै स्वास्थ्यकर्मी सिकृता वस्तीसँग विवाह बन्धनमा बाँधिएका गोपाल लोकप्रिय हास्यश्रृंखला तितो सत्यमा अभिनय गर्दा छन्देको उपनामले दर्शकमाझ लोकप्रिय भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies