काठमाडौंः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्बन व्यापार सम्बन्धी नियमावली अन्तिम चरणमा पुर्याएको र केही दिनभित्रै पास हुने बताएका छन् । मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्बन सम्बन्धी नियमावली बनेपछि कार्बन व्यापारमा सहजता हुने उल्लेख गरे । उनले जलवायु परिवर्तनको असर विश्वभर नै ठूलो चुनौति बनेको बताए । यसका असरहरु विशेष गरी नेपाल जस्तो अल्पविकसित र संवेदनशील भूबनावट भएको देशहरुमा बढी देखिन थालेको बताए । परिणमतः केही दिनअघि रसुवा, केही समयअघि हुम्लाको तिलागाउँ र मुस्ताङमा हिमताल विष्फोट भइ ठूलो क्षति व्यहोर्नुपरेको बताए । जलवायु परिवर्तनको जोखिम दिन प्रतिदिन बढिरहेको बताए ।
मन्त्री ठकुरीले भने, ‘अहिलेको परिवेशमा जलवायु परिवर्तनले विश्वमा ठूलो चुनौति थपिएको छ । यसका असरहरु विशेष गरी नेपाल जस्तो अल्पविकसित र संवेदनशील भूबनावट भएको देशहरुमा बढी देखिन थालेको छ । यसै असर स्वरुप हामीले केही दिनअघि रसुवा, केही समयअघि हुम्लाको तिलागाउँ र मुस्ताङमा हिमताल विष्फोट भइ ठूलो क्षति व्यहोर्नुपरेको छ । तराई मधेसमा सुख्खा खडेरी छ । पानीको हाहाकार छ । यो सबै जलवायु परिवर्तनको परिणाम हो । यो अवस्था दिन प्रतिदिन बढ्दै जानेछ । वन तथा वातावरण मन्त्रालयले पहल र प्रयास गरिरहेको छ । एनडिसी ३ भर्खरै हामीले सार्वजनिक गरेका छौँ, यो अहिले युएनएफसीसीसीमा पेश गरिसकेका छौँ । कार्बन व्यापार सम्बन्धी नियमावली अन्तिम चरणमा पुर्याएका छौँ । केही दिनभित्रै यो पास हुनेछ र यसले कार्बन व्यापारमा सहजता ल्याउनेछ ।’
मन्त्री ठकुरीले मधेसमा पानीको हाहाकार हुनु पनि जलवायु परिवर्तनकै असर रहेको बताए ।