२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

सशस्त्रका एसएसपीसहित ६ सय कारबाहीमा

shivam cement
मध्यान्ह
२०८२ साउन ७ गते ०६:१५
सशस्त्रका एसएसपीसहित ६ सय कारबाहीमा

काठमाडौं : नेपालको अर्धसैनिक सुरक्षा निकाय सशस्त्र प्रहरी बलमा उच्च तहका अधिकृत एसएसपीसहित ६ सय ११ जनामाथि विभागीय कारबाहीको डण्डा चलाइएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा सशस्त्र प्रहरी बलका ६ सय ११ जना कर्मचारीलाई विभागीय कारबाही गरेको हो ।  

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्रराज कर्णजितमाथि यौन दुव्र्यवहारको आरोपमा विभागीय कारबाही गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ दक्षिण सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू)मा कमान्डर खटिएका कर्णजितमाथि नर्वेजियन महिलालाई संवेदनशील अंगमा स्पर्श गरेको आरोप लागेको थियो ।

उक्त विषयमा राष्ट्रसंघकै पत्र आएपछि सशस्त्र प्रहरीले शान्ति मिसनबाट फर्केका कर्णजितलाई पाँच वर्षसम्म बढुवा रोक्का हुने गरी विभागीय कारबाही गरेको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कालिदास धौवजीले जानकारी दिए ।  

यसअघि गत असारमा सशस्त्र प्रहरी बलको १५ नम्बर बाहिनी काभ्रेका प्रमुख एसपी प्रेम प्रसाईँमाथि विभागीय कारबाही भएको थियो । विपद्का बेला संगठनको नीतिविरुद्ध बढी जनशक्ति बिदामा छाडेको भन्दै प्रसाईँलाई कारबाही गरिएको हो । उनीविरुद्ध मातहतका कर्मचारीलाई दुव्र्यवहार गरेको र जनशक्तिको राम्रो परिचालन नगरेको समेत आरोप थियो । 

त्यस्तै सशस्त्रको बलम्बुस्थित गोदाममा आगालगी भएको घटनामा दुईजना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहित ९ जनालाई विभागीय कारबाही गरेको छ । बलम्बुस्थित ९ नम्बर पशुपति बाहिनीका एसपीद्वय राजेन्द्र श्रेष्ठ र अर्जुन खत्रीलाई कारबाही गरेको बताइएको छ । सशस्त्र प्रहरी मुख्यालयले श्रेष्ठको चार वर्ष बढुवा रोक्का र खत्रीलाई नहिसहत दिएको धौवजीले मध्यान्हलाई बताए ।  

सोही घटनामा लापरबाही गरेको भन्दै डीएसपी नारायण सेढाईं, इन्सपेक्टर गोपिराम श्रेष्ठ र पदमपाणीसहित ७ जनालाई नसिहत र एक वर्ष बढुवा रोक्का गरिएको थियो । २०८० चैत २६ गते गोदाममा आगलागी भएपनि मुख्यालयले छानबिन समिति गठन गरी समितिकै सिफारिसका आधारमा गत वर्ष साउनमा ९ जनामाथि कारबाही गरेको हो ।

सबैभन्दा धेरै कारबाहीमा पर्ने बागमती प्रदेशमा मात्रै एसएसपीदेखि जवानसम्म ५९ जना विभागीय कारबाहीमा परेका हुन् । जसमा एकजना एसएसपी, एकजना डीएसपी, दुईजना इन्सपेक्टर, १० जना सई, ९ जना असई, ८ जना वरिष्ठ हवल्दार, ९ जना हवल्दार, २० जना सहायक हवल्दार र ६५ जना जवान छन् ।

बागमती प्रदेशपछि मधेश प्रदेशमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी कारबाही भोग्नेमा अगाडि छन् । मधेश प्रदेशमा दुईजना इन्स्पेक्टरदेखि जवानसम्म ४८ जना कर्मचारीले विभागीय कारबाही भोग्नुपरेको छ ।

मधेश प्रदेशमा विशेष गरी तस्करी खुलाएको, तस्करसँग उठबस गरेको आरोप सशस्त्र प्रहरी कर्मचारीहरूमाथि लाग्ने गरेको छ । 

त्यसपश्चात सुदूरपश्चिम, कोशी, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा कार्यरत सशस्त्रका कर्मचारीहरू विभागीय कारबाहीमा परेका छन् । सुदूरपश्चिममा १ सय ४ जना, कोशीमा ९३ जना, लुम्बिनीमा ८७ जना, गण्डकीमा ३८ जना र कर्णालीमा ३२ जना विभागीय कारबाहीमा परेको बताइएको छ । संगठनको नीति, आचारसंहिता र अनुशासनविपरीत काम गरेकाहरूलाई विभागीय कारबाही हुँदै आएको धौवजीले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise