काठमाडौं : सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
बैठकले मधेश प्रदेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मधेश प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण जमिनको पानीको कमीले सिँचाइ प्रणालीमा प्रभाव परेको र भूमिगत पानी र पानीका मुहान पनि सुकेपछि सर्वसाधारणले उपभोग गर्ने खानेपानी र सिंचाइको पानीको चरम अभाव भएकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले जानकारी दिए ।
मधेश प्रदेश सरकारले मंगलबार संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १४ को उपदफा २ (द) मा विपद् प्रभावित क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने अवस्था रहेमा नेपाल सरकार समक्ष सिफारिस गर्ने व्यवस्था छ ।
मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अनुसार मधेश प्रदेशको कुल खेती हुने क्षेत्रफलमध्ये ४६ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको छ ।