तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतारमा रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले गृह जिल्लामा सञ्चालन गरेको अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताको पहिलो चरणको नतिजा सार्वजनिक भएको छ । ‘कोरोना महामारी, यसले विभिन्न क्षेत्रमा पारेका प्रभाव र निराकरणका उपाय’ शीर्षकको प्रतियोगिताको नतिजा प्रकाशन गर्दै पहिलो चरणबाट कुल १२ विद्यार्थीहरू दोस्रो चरणमा प्रवेश गरेको संघले जनाएको छ ।
कुल २३ विद्यार्थीको भिडियोमार्फत उपस्थिति रहे पनि प्रतियोगितामा १८ जनालाई प्रतिस्पर्धीको रूपमा सहभागी गराइएको आयोजक समितिका संयोजक थम कुमार गिरीले मध्यान्हलाई जानकारी दिए । उनले सामाजिक सञ्जाल युट्युबमा प्राप्त कमेन्टलाई समेत आधार बनाइएको बताए ।
उत्कृष्ट १२ मा वेस्ट पोइन्टबाट शिल्पिका जिसी र प्रज्वल मल्ल, प्रकाश माविकी सिर्जना कटुवाल, जमुना खर्क माविबाट विनिता सुबेदी, बेनी सामुदायिक स्कुलकी सुमित्रा पौडेल, कैलाश मा.बि.दोवाबाट मेरिका चोचांगी, मुक्तिधाम माविकी बेबिना शाही, सर्वोदय माबिबाट सुहन पुन, श्री सरस्वती माबिबाट सुजल कार्की,भीम माबि देबिस्थानकी सुमिना पुन, म्याग्दी एकेडेमीबाट अनुज खड्का र जनप्रिय माबिबाट विजया शर्मा रहेका छन् ।
आयोजक समितिले नतिजासहित दोस्रो चरणको प्रतिस्पर्धाका लागि ‘म्याग्दी जिल्लालाई विकसित बनाउन आवश्यक मुख्य आधार के के हुन् ? प्रवासी म्याग्देलीहरुको संस्था मोनाबाट तपाईंहरुको अपेक्षा के छ ? भन्ने प्रश्नसमेत सार्वजनिक गरेको छ । उक्त शीर्षकमा भदौ २६ गते साँझ ५ बजे सम्ममा ५ मिनेट नबढाई असम्पादित र मोबाइलबाट तेर्सो गरी खिचिएको भिडियो आयोजकले उपलब्ध गराएको गुगल फर्म या इमेलमा पठाउन सकिने जनाएको छ ।
भिडियो रेकर्ड गर्दा क्यामेरा बाहेक दायाँबायाँ तल माथि कहीँ हेरेमा वा कहीँ पढेको या साभार गरिएको जस्तो देखिएमा निणायकबाट नम्बर काटिने संघका अध्यक्ष नरेन्द्र फगामीले मध्यान्हलाई जानकारी दिए ।
प्रतियोगिताबाट सकारात्मक सन्देश जाने अपेक्षा मोना कतारले लिएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा घनश्याम खड्का, रेखा कौसल रेग्मी, हरि प्रसाद सुबेदी, थम कुमार गिरी र विक्रम कार्की रहेका छन् । प्रतियोगिता ३ चरणसम्म भर्चुअल र फिनाले म्याग्दी सदरमुकाम बेनीमा प्रत्यक्ष गर्ने कार्यतालिका रहेको छ । भिडियोलाई मोना कतारले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies