२०८३ मंसिर १० गते बिहिवार / Nov 26 , 2026 , Thursday
२०८३ मंसिर १० गते बिहिवार

सुकुम्वासीको सरकार खोइ ?

Nada
२०८३ मंसिर १० गते ०६:१०
Shares
सुकुम्वासीको सरकार खोइ ?

सरकारले बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासी परिवारलाई त्यहाँबाट हटाउँदै छ । बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना निकालेर आगामी शनिबार दिउँसो २ बजेसम्मको समय दिएर हट्न निर्देश गरेको छ । तर कहाँ जाने के गर्ने भनेर कुनै विकल्प दिइएको छैन । भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार उनीहरूलाई गृहजिल्ला गएर खाली जग्गा खोज्न भनिएको छ । यसका निम्ति एक महिनाको घरभाडा र बाटो खर्च दिने वाचा छ । यही हो सरकारले दिने विकल्प ? यसले नागरिकप्रतिको राज्यको जिम्मेवारी पूरा गर्छ ? यो प्रश्न सरकारको आफ्नै पुरानो प्रतिबद्धतासँग समेत मेल खाँदैन । जति बेला सरकारले काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्तीमा डोजर चलायो, त्यतिबेलै विकल्प दिइएन भनेर प्रश्न उठ्यो । जवाफमा सरकारले १५ दिनभित्र लालपुर्जा दिने प्रतिबद्धता जनायो । तर, सरकारले १० महिनासम्म न लालपुर्जा दियो न विकल्प । उल्टै शनिबार दिउँसो २ बजेसम्मको समय दिएर जबरजस्ती हट्न भनेको छ । 

राष्ट्रिय मानवअधिकार आयोगले २५ असार २०८३ मा वैकल्पिक व्यवस्था नगरी सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको कार्यप्रति आपत्ति जनाएको थियो । त्यसबेला सरकारलाई सुकुम्वासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न निर्देश गरिएको थियो । आवास, खाद्यान्न, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका अधिकार जोखिममा परेको भनेर आयोगले औंल्याएको थियो । तर यसबीचमा न संवैधानिक आयोगको राय सुनियो, न नागरिकको संवैधानिक हक हेरियो । विगतका सरकारहरूले सुकुम्वासी समस्या समाधान गर्ने नाममा विभिन्न आयोग, समिति र कार्यक्रम बनाए । राजनीतिक दलहरूले चुनावी प्रतिबद्धता र लाभको विषय बनाए । समस्या समाधानभन्दा समस्या व्यवस्थापन र राजनीतिक उपयोगको चक्र चलिरह्यो । यसबीचमा वर्तमान सरकारले दिगो समाधान गर्ने वाचा ग¥यो । जनताले पत्याए । परिणाममा सरकार जोखिमयुक्त क्षेत्र, सार्वजनिक जग्गा र नदी किनार संरक्षणको तर्कसहित बस्ती हटायो । तर बस्ती हटाउने क्रममा प्रभावित नागरिक कहाँ जाने, उनीहरूको जीविकोपार्जन कसरी चल्ने र बालबालिका, वृद्धवृद्धा तथा अशक्तको जीवन कसरी सुरक्षित हुने भन्ने प्रश्न सम्बोधन गरेन । विस्थापितलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखियो । अहिले फेरि त्यही होल्डिङ सेन्टरबाट पनि हटाइँदै छ । 

संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ । धारा ३७ ले प्रत्येक नागरिकलाई आवासको हक दिएको छ । यहाँनेर प्रश्न उठ्छ, घरबाट विस्थापित नागरिकलाई अर्को सुरक्षित आवासको सुनिश्चितता नगरी हटाउने प्रक्रिया संवैधानिक अधिकारको मर्मसँग मेल खान्छ कि खाँदैन ? किनभने नागरिकलाई बस्तीबाट हटाउनु राज्यको शक्ति हो । तर उनीहरूलाई सुरक्षित आवास र सम्मानजनक जीवन सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो । जिम्मेवारी पूरा नगरी शक्ति प्रयोग गर्दैमा फेरि पनि दिगो समाधान गर्दैन । सरकारले बुझ्नुपर्छ, न्यायपूर्ण नीति, मानवीय व्यवहार र संवैधानिक दायित्व पूरा गरेर मात्रै सुकुम्वासी समस्याको दिगो समाधान हुन सक्छ ।

laxmi recruitement

सम्बन्धित खबर