२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सत्ता गुमेपछि सक्रिय समाजवादी मोर्चा

ADV
शिव विक
२०८१ साउन २ गते ०६:५५
सत्ता गुमेपछि सक्रिय समाजवादी मोर्चा

काठमाडौं : नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा सक्रिय भएको छ । मंगलबार नेकपा एकीकृत समाजवादी को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले विगतका अनुभवहरुलाई समीक्षा गरेर नयाँ कार्यक्रम र योजना बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । 

कार्यदलमा नेपाल कम्युनिष्ट पार्टीका नेता खड्ग विश्वकर्मा, नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ, एकीकृत समाजवादीका नेता प्रमेश हमाल र माओवादी केन्द्रका महासचिव देव गुरुङ सदस्य छन् । कार्यदललाई समग्र समीक्षालाई दस्तावेजीकरण गरेर आगामी योजना र कार्यक्रम १५ दिनभित्र तय गर्ने कार्यादेश दिइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै माओवादी केन्द्रसहितको समाजवादी मोर्चा सक्रिय भएको हो । मोर्चाको मंगलबारको बैठकले नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणलाई पश्चगामीको संज्ञा समेत दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता विश्वकर्मा नेपालको राष्ट्रिय राजनीतिमा हालै भएको घटना, माजवादी मोर्चाको विगतको काम कारबाही र समग्र देशको स्थितिको बारेमा गम्भीर समीक्षा भएको बताउँछन् ।

नयाँ राजनीतिक घटनाक्रमले प्रगतिशिल यात्रातिर अघि बढिराखेको देशलाई यथास्थिति र पश्चगमन एवं विगतको आन्दोलन र उपलब्धिलाई चुनौति दिनेतिर उद्यत रहेको निस्कर्ष निकालेको उनले बताए ।

प्रचण्ड नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो टठूलो दल नेकपा एमाले मिलेका हुन् । दुई दलबीच संविधान संशोधन गर्ने सहितको समझदारी बनेको छ । 

यो पृष्ठभूमिमा मोर्चाले कांग्रेस र एमालेको समीकरणलाई पश्चगामीको संज्ञा दिएको हो । 

मंगलबारको बैठकले महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई समाजवादी मोर्चा नेपालमा आवद्ध गर्ने पनि निर्णय गरेको छ । यो सँगै मोर्चामा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल समाजवादी पार्टी, एकीकृत समाजवादी र  माओवादी केन्द्र रहेका छन् ।

४ असार २०८० मा गठन भएको योे मोर्चाले ७७ वटै जिल्लामा संरचना बनाइसकेको छ । २१ फागुन २०८० मा सत्ता समीकरण फेरिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता समीकरण भएपछि मोर्चा निश्क्रिय भएको थियो । फेरि सत्ता समीकरण बदलिएर प्रचण्ड नेतृत्वको सरकार ढलेपछि मोर्चा फेरि सक्रिय भएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise