
काठमाडौँ : नेपाली कांग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टीभित्रको विभाजन रोक्दै सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।
१५ औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले अद्यावधिक गरेपछि शाहीले पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरूलाई समेत एकताका लागि आह्वान गरेका हुन् ।
देउवा पक्षले समानान्तर गतिविधि सञ्चालन गरिरहेका बेला शाहीले भनेका छन्, ‘सबै मिलाएर लिन कांग्रेस तयार छ। सबै जुटौँ कोही नफुटौँ ।’
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाही १४ औँ महाधिवेशनमा देउवा समूहबाट सहमहामन्त्री पदका उम्मेदवार बनेका थिए ।
यसैबीच, शाहीले होल्डिङ सेन्टरमा आश्रित सुकुम्वासी नागरिकलाई हट्न सरकारले दिएको सूचना तथा निर्देशनप्रति पनि असहमति जनाएका छन् । सरकारी निर्णयले विपन्न तथा भूमिहीन नागरिकको आवासको अधिकार र राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ ।
नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्दै उपयुक्त वैकल्पिक आवास र दीर्घकालीन पुनर्स्थापनाको प्रत्याभूति गर्नुपर्नेमा शाहीले जोड दिएका छन् । त्यस्तो सुनिश्चितताबिना नागरिकलाई विस्थापित गर्नु न्यायोचित नहुने उनले बताएका छन् ।