२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

महासंघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्नेमा जोड

ADV
भावना पाठक
२०८१ साउन २ गते १७:००
महासंघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्नेमा जोड

काठमाडौँ : क्रियाशील पत्रकारहरूको साझा मोर्चाले 'नेपाल पत्रकार महासंघको विद्यमान समस्या र निकास' नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महासंघभित्र देखिएको राजनीतिक हस्तक्षेपको अन्त्य र रोकिएको निर्वाचन जतिसक्दो छिटो गर्नुपर्ने मूल बिषयमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिएको थियो । 

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले, पूर्व उपाध्यक्ष राधा बुढाथोकी शुद्धिकरण समितिका सदस्य तथा पूर्व सचिव धर्मेन्द्र कर्ण, प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेलगायतले अन्तरक्रियामा भाग लिएका थिए । 

बुधबार मधेश मिडिया हाउसमा आयोजित अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले महासंघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्नेमा जोड दिएका छन् । महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले नियत सफा राखेर समस्याको समाधान गर्ने हो भने २४औँ घण्टाभित्र विवाद अन्त्य हुने अनि २५औँ घण्टामा चुनाव गराउन सकिने टिप्पणी गरे । उनले महासंघकै पदाधिकारीले विद्यमान समस्याको निकास दिनसक्ने बताउँदै गैरपत्रकारको हस्तक्षेपलाई स्वीकार गर्न नहुने सुझाव दिए ।

शुद्धिकरण समितिका सदस्य तथा पूर्व सचिव धर्मेन्द्र कर्णले महासंघले समयमै चुनाव नगरेर आफ्नो बैद्यानिकता गुमाएको धारणा व्यक्त गरे । तोकिएको मितिमा चुनाव गर्न नसक्ने संस्थाले पत्रकारको हक हितमा कसरी आवाज उठाउन सक्छ भन्ने उनको प्रश्न थियो । 

महासंघकी पूर्व उपाध्यक्ष राधा बुढाथोकीले महासंघमा गैर पत्रकारको बाहुल्यता धेरै भएकोले श्रमजीवी पत्रकारको पहिचान आवश्यक रहेको बताइन् । उनले महासंघले सदस्यताको वितरण गर्दा पत्रकारको पृष्ठभूमि हेर्नुपर्ने सुझाव दिइन् । अरूलाई प्रश्न उठाउने औँलाले आज आफ्नै संस्थालाई औँला उठाउनुपर्दा दु:ख लागेको उनले बताइन् । 

प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेले महासंघमा सल्लाहकारको भूमिका कमजोर भएको धारणा व्यक्त गरे । उनले पूर्व अध्यक्षहरूको मौन भूमिकाको बिरोध गर्दै आगामी दिनमा खवरदारी गरेर भएपनि चुनाव गराउने गरी भूमिका खेल्न सुझाव दिए । 

अन्तरक्रिया कार्यकममा विभिन्न सञ्चार माध्यममा क्रियाशील भएर लागेका पत्रकारहरूको सहभागिता थियो । उनीहरूले श्रमजीवी पत्रकारको हक हितको लागि खबरदारी गर्न मोर्चालाई आग्रह गरे । 

राजनीतिक दलको संगठनभन्दा बाहिर रहेर पत्रकारिता गर्ने पत्रकारलाई महासंघले सदस्य बनाउनै नखोज्ने बताउँदै उपस्थित पत्रकारले यस्तो अवस्थाको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए । दलीय पत्रकार र पत्रकारिताले महासंघको निष्ठामाथि प्रश्न उठेको भन्दै राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्ने उनीहरूको धारणा थियो । 


 

ADVADV

सम्बन्धित खबर

Advertise