
काठमाडौं : एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई चिनियाँ जासुसीको आशंका गरिएकी महिलासँगको कथित सम्बन्ध र अमेरिकी राष्ट्रिय सुरक्षासँग जोडिएका विषयमा बयान दिन अमेरिकी सिनेट समितिले बोलाएको छ ।
अमेरिकी सिनेटको बैंकिङ समितिका अध्यक्ष टिम स्कटले हुआङलाई डिसेम्बर ३ मा समितिसमक्ष उपस्थित हुन पत्र पठाएका हुन् । उनी उपस्थित नभए बाध्यकारी समन जारी गर्न सकिने चेतावनीसमेत दिइएको छ । यसैगरी, अमेरिकी वाणिज्यमन्त्री होवार्ड लटनिकलाई पनि चीनमा एआई चिप निर्यातसम्बन्धी विषयमा डिसेम्बरमा बयान दिन बोलाइएको छ ।
हुआङको चिनियाँ जासुस भएको आशंका गरिएकी एलिस हुआङसँग विवाहबाह्य सम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि विवाद चुलिएको हो । उनले आफू पत्नीप्रति इमानदार नरहेको स्वीकार गरेका छन् । एनभिडियाकै अर्की उच्च अधिकारीसँग पनि उनको सम्बन्ध रहेको अर्को विवरण सार्वजनिक भएको छ ।
यस विषयमा अमेरिकी प्रतिनिधिसभाका गुप्तचर, विदेश मामिला र चीनसम्बन्धी समितिले पनि हुआङलाई डिसेम्बर १ मा बन्द कोठाभित्र हुने छलफलमा उपस्थित हुन पत्र पठाएका छन् ।
विवादसँगै पाँच दिनमा एनभिडियाको बजार मूल्यमा ५५० अर्ब अमेरिकी डलर गिरावट आएको समाचारमा उल्लेख छ । यद्यपि, कम्पनीले राष्ट्रिय सुरक्षा वा गोप्य सूचनामा सम्झौता भएको कुनै आधार नरहेको जनाएको छ ।
एलिस हुआङ चीनका लागि जासुसी गतिविधिमा संलग्न थिइन् वा थिइनन् भन्ने विषयमा अमेरिकी न्याय मन्त्रालयले अहिलेसम्म कुनै निष्कर्ष ननिकालेको महान्यायाधिवक्ता टोड ब्लान्चेले बताएका छन् ।
यसैबीच, एनभिडियाले स्थायी सीईओको खोजी सुरु गरेको छ । कम्पनीकी प्रमुख वित्तीय अधिकृत कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको छ ।