
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मकवानपुरको चिसापानीगढीमा भएको ईभी हाइस दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
दुर्घटनामा १४ जनाको मृत्यु र ६ जना घाइते भएपछि विज्ञप्ति जारी गर्दै उनले सवारीमा क्षमताभन्दा बढी यात्रु राखिएको थियो वा थिएन, प्राविधिक अवस्था कस्तो थियो र प्रहरी चेकपोस्टमा यात्रुको विवरण किन अद्यावधिक गरिएन भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
उनले यसअघि रोल्पाको जलजलामा भएको दुर्घटनामा २० जनाको मृत्यु हुँदा गठन गरिएको छानबिन समितिको प्रतिवेदनसमेत सार्वजनिक नभएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।
आङदेम्बेले दुर्घटनापछि छानबिन समिति गठन गर्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । साथै, घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन र सडक सुरक्षा तथा सवारी अनुगमनलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् ।