आज श्रीपञ्चमी । नेपाली समाजमा यो दिनको विशेष अर्थ छ । यो दिनलाई शुभदिन मान्ने प्रचलन यद्यापि कायमै छ । हामीले पनि २० वर्ष अगाडि श्रीपञ्चमीकै अवसर पारेर मध्यान्ह राष्ट्रिय दैनिक शुरु गरेका थियौं । अर्थात् आजको दिन मध्यान्ह राष्ट्रिय दैनिकको स्थापना दिवस हो । आजबाट हामी २१ औं वर्षको यात्रामा अगाडि बढेको खबर सुनाउन पाउनु हाम्रो लागि गर्वको विषय हो । दुई दशक लामो यात्रा पार गरेको खुशी तपाईहरु समक्ष साट्न चाहन्छौं । किनकि हाम्रो जस्तो अर्थ–राजनीतिक समाजमा दुई दशक लामो यात्रा पार गर्नु पक्कै पनि गर्वको विषय हो । यो अवधिमा जसरी नागरिकका एजेण्डासँग एकाकार हुन सक्यौं त्यो नै हाम्रो सफलताको मूख्य खम्बा हो ।
पक्कैपनि मध्यान्हले पार गरेको दुई दशकको अवधि सजिलो थिएन । यो अवधिमा ठूलो राजनीतिक परिवर्तन भएको छ । २०७२ को बिनासकारी महाभूकम्प, भारतीय नाकाबन्दी, शताब्दीकै ठूलो महामारी (कोरोना संक्रमण) जस्ता ठूला संकटहरु खेपेका छौं । तर जस्तोसुकै संकटमा पनि नागरिकको सूचना पाउने अधिकार सुनिश्चित गर्न हामी सदैव प्रतिबद्ध भएका छौं । समाजको बहुलवादी चरित्र, बहुदलीय लोकतन्त्र र संविधानवादको सिद्धान्तलाई अंगीकार गर्दै सीमान्त नागरिकको आवाज उठाउन कहिल्यै पछि हटेका छैनौं । यिनै संकल्पले गर्दा मध्यान्ह राष्ट्रिय दैनिक यहाँसम्म आइपुगेको छ ।
यो यात्रामा तपाई आमपाठक, विज्ञापनदाता, बिक्रेता र शुभेच्छुकहरुको बिर्सन नसक्ने साथ छ । कठिन परिस्थितिमा पनि तपाईहरुकै साथले हामी यहाँसम्म आइपुगेका हौं । आउने दिनमा पनि मध्यान्ह आफ्नो संकल्पमा प्रतिबद्ध रहनेछ, बिगतको विश्वास र भरोसामा किञ्चित कमी हुन दिने छैनौं । अन्त्यमा, फेरि पनि पाठक, विज्ञानदाता, बिक्रेता तथा शुभेच्छुकहरुप्रति हामी अझ बढी जिम्मेवार र इमानका साथ प्रस्तुत हुने प्रण गर्दछौं । धन्यवाद !
सितादेवी श्रेष्ठ
प्रकाशक
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies