२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

पोखरामा स्कुल बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन

Nada
२०८३ असोज २३ गते १४:१७
Shares
पोखरामा स्कुल बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ : पोखरामा पाँच जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले पाँच सदस्यीय समिति गठन गरेको छ ।

ncell

पुरानो गाडी र तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमानका बीच महानगरपालिकाले घटनाको वास्तविक कारण पहिचान गर्न समिति गठन गरेको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलका अनुसार महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य छन् ।

समितिलाई दुर्घटनाको सत्यतथ्य पत्ता लगाउने, कारण पहिचान गर्ने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुधारका उपायसहित पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

समितिले दुर्घटनामा परेको बसको प्राविधिक अवस्था, दुर्घटनासँग सम्बन्धित परिस्थिति तथा विद्यालयका सवारीसाधनको सुरक्षा व्यवस्थाबारे अध्ययन गर्नेछ । विद्यार्थीको सुरक्षित आवागमन सुनिश्चित गर्न आवश्यक सावधानी र सुधारका उपायसमेत समितिले सिफारिस गर्नेछ ।

पोखरा महानगरपालिका-२८, माझठानाबाट विद्यार्थी लिएर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस कालिकास्थित ओख्लेको भीरमा दुर्घटनामा परेको थियो ।

दुर्घटनाका बेला बसमा विद्यार्थी, चालक र सहचालकसहित २१ जना सवार थिए । दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने अन्य १६ जना घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको जनाइएको छ ।

प्रहरीले पुरानो गाडी र तीव्र गतिलाई दुर्घटनाका सम्भावित कारणका रूपमा हेरेको छ । यद्यपि, दुर्घटनाको यकिन कारण प्राविधिक परीक्षण र विस्तृत छानबिनपछि मात्रै स्पष्ट हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर