
काठमाडौं : काठमाडौं महानगरपालिकाले आफ्नो अमूर्त सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्धन गर्ने उद्देश्यका साथ ‘सम्यक् महादान’ कार्यक्रमलाई पुनर्जीवित गर्ने भएको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भौतिक संरचनाको पुनर्निर्माणसँगै त्यसको मर्मका रूपमा रहेका अमूर्त परम्पराहरूको निरन्तरता अपरिहार्य रहेको बताएकी हुन् । उनले महानगरले यसको नीतिगत र व्यावहारिक नेतृत्व गर्ने जानकारी दिइन् ।
काठमाडौं महानगरपालिकाले प्राचीन सांस्कृतिक परम्परा सम्यक् महादानको संरक्षण र पुस्तान्तरणका लागि विशेष कार्ययोजना अघि सारेको छ । कार्यवाहक मेयर डंगोलकाअनुसार हालसम्म महानगरले धेरै भौतिक सम्पदा र मठ–मन्दिरको पुनर्निर्माण गरिसकेको छ, तर शरीर जस्तै भौतिक संरचनामा ‘प्राण’ भर्न अमूर्त संस्कृति जीवित रहनुपर्छ ।
सम्यक् महादानलाई भव्य रूपमा सञ्चालन गर्न महानगरले ३०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । यो समितिले सम्यक् महादानको धार्मिक, ऐतिहासिक र सांस्कृतिक मूल्यलाई जोगाउँदै यसलाई व्यवस्थित बनाउनेछ । महानगरले यस कार्यमा सुरक्षा व्यवस्थादेखि नीतिगत र आर्थिक सहजीकरणसम्मको जिम्मेवारी लिने भएको छ ।
पछिल्लो समय युवा पुस्तालाई यस्ता परम्परासँग जोड्न महानगर सफल भएको छ । उदाहरणका लागि, मुहाली बाजाको परम्परा लोप हुने अवस्थामा पुगेपछि स्थानीय युवाहरूको सहकार्यमा त्यसलाई पुनर्जीवित गरिएको छ । यही मोडललाई अपनाउँदै सम्यक् महादानलाई पनि नयाँ पुस्तामाझ पुर्याउने लक्ष्य राखिएको डंगोलले बताइन् ।
यस अभियानमा विभिन्न उप–समितिहरू गठन गरी काम शुरु भइसकेको छ । सम्बन्धित समुदायका गुठियारहरू, द्यः (देवता) थुवाहरू र स्थानीय बुद्धिजीवीहरूसँगको समन्वयमा महादानलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता महानगरले व्यक्त गरेको छ । सम्पदा संरक्षण केवल संरचना निर्माणमा सीमित नभएर संस्कारको निरन्तरतामा केन्द्रित हुनुपर्ने महानगरको स्पष्ट नीति छ ।