
दोहा, कतार : प्रवासी नेपाली मञ्च कतारको आयोजनामा शुक्रबार हमाद अस्पतालमा सम्पन्न पहिलो रक्तदान कार्यक्रममा १५२ जनाले रक्तदान गरेका छन् । केही वर्ष पहिले एनआरएनए एनसिसी कतारको आयोजनामा सम्पन्न कार्यक्रममा १४३ जनाले रक्तदान गरेको अभिलेखलाई उछिन्दै यसपटक बढी रक्तदाताले सहभागिता जनाएपछि कार्यक्रम ऐतिहासिक बनेको हो ।
कार्यक्रममा नेपालीसहित विदेशी नागरिकले समेत रक्तदान गरेका थिए । कतारमा स्थापित विभिन्न नेपाली संघसंस्थाका प्रमुख, पदाधिकारी तथा प्रतिनिधि सहित करिब पाँच सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी रक्तदातालाई प्रशंसा पत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो ।
कार्यक्रमका समन्वयकर्ता संस्था नेपाली रक्तदाता संघ कतारका कार्यवाहक अध्यक्ष सन्तोष पौडेलले रक्तदान गरेर सुरुवात गरिएको कार्यक्रम मञ्च कतारका सचिव रघुनाथ शर्माको रक्तदान पश्चात समापन भएको थियो ।
कार्यक्रमपछि मध्यान्ह दैनिकसँग कुरा गर्दै मञ्चका अध्यक्ष अफसर अलि खानले कतारको नेपाली समाजमा आफ्नो राजनीतिक विचार र आस्था फरक भए पनि नेपाली समुदायबीच भाइचारा, सद्भाव र आपसी समन्वय कायम गर्दै अघि बढ्नुपर्ने बताए ।
उनले मञ्चले विभिन्न सामाजिक तथा मानवीय गतिविधिमार्फत समुदायसँगको सम्बन्ध बलियो बनाउँदै आएको उल्लेख गर्दै रक्तदान कार्यक्रमले सामाजिक एकता र सहकार्यको महत्त्व थप उजागर गरेको बताए । कार्यक्रम सफल बनाउन सहयोग गर्ने हमाद अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, मञ्चको कार्यसमिति र अन्य सहयोगीप्रति उनले धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा नेपालीसँगै अन्य देशका नागरिकको सहभागिताले रक्तदान कुनै जाति, धर्म, राष्ट्रियता वा राजनीतिक आस्थामा सीमित नभई साझा मानवीय अभियान भएको सन्देश दिएको सचिव शर्माले बताए ।
नेकपा एमालेको प्रवासस्थित संगठनका रूपमा रहेको मञ्च कतारले आयोजना गरेको यस कार्यक्रमले संस्थाको सामाजिक सक्रियता, संगठनात्मक क्षमता र सामुदायिक एकतालाई समेत उजागर गरेको छ । विभिन्न क्षेत्रका नेपाली तथा विदेशी नागरिकलाई मानवीय सेवाको साझा अभियानमा जोड्न सफल कार्यक्रमले कतारमा नेपाली समुदायको सकारात्मक पहिचान स्थापित गर्न थप योगदान पुर्याएको छ ।
मध्यान्ह दैनिक सञ्चार सहयोगीका रूपमा रहेको थियो ।