२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

गौरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त छापा, १० लाखभन्दा बढी मूल्यका अवैध कपडा बरामद

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ कार्तिक १३ गते १८:१४
Shares
गौरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त छापा, १० लाखभन्दा बढी मूल्यका अवैध कपडा बरामद

रौतहट : रौतहटको सदरमुकाम गौरमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले छापा मारेर १० लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध कपडा बरामद गरेको छ ।

चाडपर्वलाई लक्षित गर्दै सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी भित्र्याइएका अवैध सामानको कारोबार नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी र गस्तीलाई तीव्र बनाएका बेला प्रहरीले उक्त सफलता हात पारेको हो ।

विशेष सूचनाका आधारमा बिहीबार राति करिब ११ बजे गौर नगरपालिका–१ स्थित मनोज साह (छोट्का) को घरमा सुरक्षाकर्मीको संयुक्त टोलीले आकस्मिक छापा मारेको थियो । सो क्रममा भन्सार छली गरी अवैध रूपमा लुकाइछिपाइ राखिएका ठूलो परिमाणका लत्ताकपडा बरामद गरिएको स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, ११ नम्बर गण हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको विशेष निर्देशन तथा निगरानीमा उक्त संयुक्त कारबाही सञ्चालन गरिएको हो । कारबाहीका लागि सशस्त्र प्रहरी बल, गौर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद भट्ट र भन्सार सुरक्षा गार्डको संयुक्त कमान्डमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो ।

प्रारम्भिक अनुमानअनुसार बरामद गरिएका कपडाको बजार मूल्य १० लाख रुपैयाँभन्दा बढी रहेको छ। बरामद सामानको वास्तविक परिमाण, प्रकृति तथा राजस्व छलीको आधिकारिक मूल्याङ्कन गर्ने प्रक्रिया अगाडि बढाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

तिहार तथा छठलगायतका चाडपर्वको मौका छोपी सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरी अवैध रूपमा सामान भित्र्याउने गतिविधि बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै रौतहटका विभिन्न नाका तथा सीमा क्षेत्रमा सुरक्षा निकायले चेकजाँच र गस्तीमा कडाइ गरेको छ ।

बरामद गरिएका सम्पूर्ण कपडा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ । जिल्लामा भन्सार छली, तस्करी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न आगामी दिनमा पनि यस्ता संयुक्त सुरक्षा कारबाहीलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिइने सुरक्षा निकायले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर