
रौतहट : जिल्लाको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।
बिहीबार साँझ करिब ७ बजे दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना.२ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधिअवाबाट प्रहरी सहायक निरीक्षक नरेश यादवको कमान्डमा खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक रौतहटको गुजरा नगरपालिका–४, पोखरभिन्डा निवासी ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी र मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती ३० वर्षीया प्रहरी जवान निशा खड्का गम्भीर घाइते भएका थिए । चौधरी इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा कार्यरत थिए ।
घाइते दुवै जनालाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा राति ८:१० बजे चिकित्सकले प्रहरी जवान सुभाष चौधरीलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
त्यस्तै, दुर्घटनामा गम्भीर घाइते भएकी उनकी श्रीमती निशा खड्काको अवस्था पनि चिन्ताजनक रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
कर्तव्यपालनमा खटिएका प्रहरी जवान चौधरीको असामयिक निधनले प्रहरी संगठन तथा स्थानीय क्षेत्रमा शोक छाएको छ ।