काठमाडौँ :अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । बिहान ११ बजे सिंहदरबारमा आयोजित कार्यक्रममा उनले पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।
जेन जेड आन्दोलनपछि सरकार ढलेको परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार राति कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले त्यही रात शपथ लिएर संसद् विघटनको घोषणा गरेकी थिइन् ।
पदभार ग्रहणसँगै प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी समेत गरेकी छन् । यसका लागि उनले आवश्यक छलफल गरिरहेको स्रोतले जनाएको छ । आजै मन्त्रीहरूको नामावली टुंग्याएर नियुक्ति गर्ने उनको तयारी रहेको छ ।
पदभार ग्रहण गर्नु अघिल्लो दिन प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा घाइते भएकाहरूलाई अस्पताल पुगेर भेटेकी थिइन् ।